काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडलाई मर्जरमा जान बाटो खुला गरेको छ । कम्पनीले जुम प्रविधिबाट इन्स्योरेन्सको अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा शनिबार सभा सम्पन्न गरेको छ । कम्पनीको २३ औं वार्षिक साधारणसभाले अन्य निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर वा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको हो ।
सभाले कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७५—०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५—०७६ को नाफा र नोक्सानको हिसाब तथा लेखा परीक्षकको प्रतिवेदन सहितका वासलात, नाफा नोक्सान, हिसाब र नगद प्रवाह विवरण तथा त्यससंग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा ८६ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७५—०७६ को नाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्न सकेन।
उनले नेपाल लेखामान (एनएफआरएस) वित्तीय विवरण अनुसार नाफाको ५० प्रतिशत रकम जगेडा तथा कोष कायम गर्नुपर्ने भएकाले सेयरधनीलाई लाभांश वितरण गर्न नसकिएको बताए। गत वर्ष सगरमाले जगेडा कोषको रकमसमेत बोनस दिएर चुक्तापुँजी १ अर्ब रुपैयाँ पुर्याएको थियो । यस्तै कम्पनीको चुक्ता पूँजी कायम गर्न अघिल्लो आर्थिक वर्षको नाफा वितरण गर्दा महाविपीत्त कोषबाट सापटी लिइएको ७ करोड ३७ लाख रुपैयाँ फिर्ता गर्दा रिर्टेन अर्निङ्ग घट्न पुगेको बताए।
कम्पनीले आर्थिक वर्ष २०७५-०७६ मा अघिल्लो आवको तुलनामा १ अर्ब ८१ करोडले वृद्धि गरी २ अर्ब १९ करोड ४७ लाख ४६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.८३ प्रतिशतले धेरै हो । कम्पनीले १८.४३ प्रतिशतले बीमाशुल्क संकलन बढाएको थियो ।कम्पनीको बीमाकोष, महाविपत्ति तथा अन्य जगेडा कोष गरी ७३ करोड ८ लाख ७८ हजार बराबरको छ ।


