सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । काठमाडौंमा ल्याएर उनलाई सिधै सीआईबीमा लगिएको छ ।
रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको हो । चीनबाट आयात हुने भेपमा सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस अगाडि पनि महराले सुन प्रकरणमै सीआईबीसमक्ष बयान दिई सकेका छन । महराले आफ्नो बारेमा पार्टीभित्र र सार्वजनिक रुपमा कुरा उठेपछि आफैं सीआईबीकहाँ पुगेर बयान दिएका थिए । उनले पहिलो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसमक्ष बयान दिने क्रममा आफूले सुन कारोवार गरेको स्वीकार गरेका थिए ।
ससद्मा महरा र उनका छोरा राहुल महरामाथि एमाले लगायतका दलका सांसदहरुले सदनमै कुरा उठाएपछि महरा सीआईबी पुगेका थिए। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको बयान दिएका थिए ।
उनले आफू फलफूल व्यवसायी रहेको भनी आफूलाई चिनाएको दाबी गरेका थिए । विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको उनले स्वीकार गरेका थिए ।
ल्याब परीक्षणको प्रतिवेदनपछि महराको टेलिफोन सम्वादसहित अन्य कुरा समितिले अध्ययन गरेपछि अभियोगपत्र लैजान सिफारिस गरेको थियो ।
उनले वाङसँग आफूले टेलिफोनमा कुरा नगरेको तर भेटेको पनि स्वीकार गरेका थिए। सुन तस्करीमा छानबिनका लागि गठन भएको न्यायाधीश नेतृत्वको समितिमा पनि उनले त्यही कुरा गरेका थिए। समितिले उनको कुरालाई आधार बनाउँदै मोबाइल डीएफएल परीक्षणमा पठाएको थियो।
उनले भनेका थिए, ‘म १०–१५ वर्षसम्म सरकारी पदमा छु । विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत । कुरा भइराख्थ्यो । छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्मत गर्नु भनेको हो,’ उनले भनेका थिए ।
भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप) को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो । तर सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्मत कार्य अगाडि बढाउन भनेको दाबी उनले गरेका थिए । तर छानबिन समितिले उनले भनेकोभन्दा धेरै नै फरक पाएपछि अभियोगपत्र दायर गर्न भनेको थियो ।
‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो । इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नुपर्ने हो भने गर्नु भनेको हो । यत्ति हो कुराकानी भएको,’ उनले भनेका थिए । उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको ’स’ अक्षर पनि उच्चारण नगरेको बताएका थिए ।
‘मैले केही इलिगल समान हो र भनेर सोधेँ । इलिगल होइन भने । इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले बयानमा भनेका छन् ।
उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन पनि सुनसँग सम्बन्धित नभएको दाबी गरेका थिए । भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बयानमा उल्लेख छ ।
उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनमा सघाउन आफू तयार रहेको पनि बयानमा बताएका थिए ।


