Banijya News

प्रतिबन्धित वस्तुको बिक्री–वितरण गरे कडा कारबाही हुने

1
1.0K Shares

सरकारले निकासी–पैठारी तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएका वस्तुहरू भौतिक तथा डिजिटल (अनलाइन) माध्यमबाट खुला रूपमा बिक्री भइरहेको गुनासोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धित वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री–वितरण कानूनविपरीत रहेको स्पष्ट पारेको छ । यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिँदै उल्लंघन गर्नेविरुद्ध कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

विभागका अनुसार निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै सरकारले २०७६ असार २ र २०७६ चैत २४ मा नेपाल राजपत्रमार्फत विभिन्न वस्तुको निकासी वा पैठारीमा पूर्ण तथा परिमाणात्मक प्रतिबन्ध लगाएको थियो ।

यद्यपि, प्रतिबन्धित वस्तुहरू अझै पनि बजार तथा अनलाइन प्लेटफर्ममार्फत निर्बाध रूपमा बिक्री भइरहेको सम्बन्धमा प्राप्त उजुरीपछि विभागले पुनः सचेत गराउँदै सूचना जारी गरेको हो । विभागले सम्पूर्ण पैठारीकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई प्रचलित कानूनले निर्धारण गरेका दायित्व, मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्दै मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

साथै, प्रतिबन्धित वस्तुको आयात, भण्डारण वा बिक्री–वितरण गरेको पाइए निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानूनबमोजिम कडा कानुनी कारबाही गरिने विभागले जनाएको छ ।

1

Scroll to Top