नेपालको मुस्ताङमा रहेको शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट लक्जरी होटल बन्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरमा चर्चित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका उत्कृष्ट लक्जरी होटलहरूको सूचीमा शिन्तामणि मुस्ताङ पहिलो स्थानमा परेको हो
विश्वका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै शिन्तामणि मुस्ताङले विश्व आतिथ्य क्षेत्रमा नेपालको प्रतिष्ठालाई नयाँ उचाइमा पुर्याएको छ । रोब रिपोर्टले रिसोर्टलाई विश्वकै अद्वितीय र विशिष्ट विलासी गन्तव्यको श्रेणीमा राखेको छ ।
रोब रिपोर्टले आफ्ना यात्रा विशेषज्ञ तथा समीक्षकहरूको सिफारिस, स्थलगत अनुभव, सेवाको गुणस्तर, स्थान, व्यवस्थापन, डिजाइन र मौलिकताका आधारमा होटलहरूको मूल्यांकन गरेको जनाएको छ ।
विश्वका स्थापित लक्जरी होटलहरूलाई पछि पार्दै शिन्तामणि मुस्ताङ शीर्ष स्थानमा पुग्नु नेपाली पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यस उपलब्धिले नेपाललाई हिमाल आरोहण र साहसिक पर्यटनको गन्तव्यका रूपमा मात्र नभई विश्वस्तरीय लक्जरी तथा अनुभवमूलक पर्यटनको गन्तव्यका रूपमा समेत स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कालीगण्डकी नदी नजिकै अवस्थित यो रिसोर्ट प्रसिद्ध डिजाइनर बिल बेन्स्लीको परिकल्पनामा निर्माण गरिएको हो । परम्परागत बाग्लुङ ढुंगा प्रयोग गरी बनाइएको रिसोर्टमा २९ वटा कोठा छन् । प्रत्येक कोठाबाट मुस्ताङका हिमाल र आसपासका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ ।
रिसोर्टको वास्तुकला, स्थानीय संस्कृति, प्राकृतिक वातावरण र व्यक्तिगत आतिथ्य सेवाको संयोजनलाई यसको प्रमुख विशेषताका रूपमा उल्लेख गरिएको छ । यात्रा विशेषज्ञ क्रिस्टोफर विल्मोट–सिटवेलले शिन्तामणि मुस्ताङलाई शरीर, मन र आत्मालाई शान्त बनाउने उत्कृष्ट विश्रामस्थलका रूपमा व्याख्या गरेका छन् ।
रिसोर्टमा आउने पाहुनाका लागि कम्तीमा पाँच रात बस्नुपर्ने व्यवस्था गरिएको छ । पाँच रातको प्याकेजमा पाहुनालाई मुस्ताङको प्रकृति, संस्कृति, जीवनशैली र आध्यात्मिक अनुभवसँग जोड्ने विभिन्न गतिविधि समावेश गरिएको छ ।
यहाँ पर्यटकले घोडचढी, धनुषबाण, पदयात्रा तथा स्थानीय गाउँ र गुम्बाको भ्रमण गर्न सक्छन्। करिब आठ सय वर्ष पुरानो लुब्रा गाउँको भ्रमण, बोन बौद्ध परम्पराको अध्ययन र स्थानीय संस्कृतिसँगको प्रत्यक्ष अनुभव रिसोर्टका प्रमुख आकर्षण हुन् ।
रिसोर्टमा परम्परागत तिब्बती चिकित्सा पद्धतिसँग सम्बन्धित सेवा पनि उपलब्ध गराइन्छ । यसले पर्यटकलाई विलासी बसोबाससँगै स्वास्थ्य, आध्यात्मिकता र मानसिक शान्तिको अनुभव दिलाउने अपेक्षा गरिएको छ । एभरेस्ट क्षेत्रको तुलनामा कम भीडभाड, शान्त वातावरण र पृथक भूगोलका कारण मुस्ताङ उच्च खर्च गर्ने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।


