तेह्रथुम पावर कम्पनीले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा योग्य लगानीकर्ताहरूले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ।
कम्पनीले आफ्ना शेयरधनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यो हकप्रद जारी गरिएको छ।
को-कोले दिन पाउँछन् आवेदन?
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसअनुसार, २०८२ जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रदका लागि आवेदन दिन सक्नेछन्।
कहाँबाट दिने आवेदन?
शेयरधनीहरूले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बाट आवेदन दिन सक्नेछन्। यसका साथै, नबिल बैंकका छथर, म्याङलुङ, फेदाप र संक्रान्ति बजार शाखा कार्यालयहरू तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालय बाट पनि आवेदन दिन सकिनेछ।
यी बाहेक, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि अनलाइन वा भौतिक रूपमा आवेदन पेस गर्न सकिन्छ।


