Banijya News

थपियो बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने समय, कसले कति शेयर पाउँछन् ?

1
1.1K Shares

बुङ्गल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समय थपिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई साउन २६ गतेसम्म आवेदन दिने म्याद थपेको हो। यद्यपि, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आज (आइतबार) सम्म मात्र आवेदन दिन सक्नेछन्।

कसले कति शेयर पाउँछन् ?

कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये, ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

स्थानीयलाई छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात् सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट, गाविस वडा नम्बर ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा नम्बर १) का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात् बझाङ जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। यसका साथै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ।

न्यूनतम र अधिकतम आवेदन

लगानीकर्ताहरूले सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको परियोजना विवरण

बुङ्गल हाइड्रोपावरले १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यस आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।

कहाँबाट दिने आवेदन ?

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका र आयोजनास्थल बाट आवेदन दिन सक्नेछन्।

1

Scroll to Top