बैंक तथा वित्तीय संस्थामा निरन्तर घटिरहेको ब्याजदरका कारण मुद्दती निक्षेपको अनुपात घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रु ६९ खर्ब ६९ अर्ब ८९ करोड पुगेको छ । यसमा मुद्दती निक्षेपको हिस्सा ५०.२ प्रतिशत रहेको छ । यो प्रवृत्तिले बैंकको स्थायित्व र ऋण प्रवाह क्षमतामा चुनौती थप्न सक्ने देखिएको छ । विगत दुई वर्षदेखि मुद्दती निक्षेपमा ब्याजदर घट्दै गएका कारण यसरी निक्षेप घट्न थालेको हो। २०८१ जेठमा कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५८.५ प्रतिशत थियो। केहीवर्षअघि मुद्दती निक्षेप लगातार बढ्दै गएको थियो। २०७८ जेठमा कुल निक्षेपमा मुद्दतीको हिस्सा ४८.५ प्रतिशत, २०७९ मा ५७.१ प्रतिशत, र २०८० मा ५९.८ प्रतिशत पुगेको थियो । तर पछिल्लो दुई वर्षमा यो घट्दै ५०.२ प्रतिशतमा झरेको हो ।
कम ब्याजदरका कारण निक्षेपकर्ताहरूले अब आफ्नो पैसा शेयर बजार, म्युचुअल फण्ड, बीमा, र अल्पकालीन सरकारी उपकरणहरू (ट्रेजरी बिल्स) जस्ता अन्य लगानीका विकल्पहरूमा सार्न थालेका छन् । पछिल्लो समय शेयर बजारमा लगानीका लागि कर्जा सहज भएकाले लगानीकर्ताहरू मुद्दती निक्षेपको तुलनामा शेयर बजारमा पैसा लगाउन बढी इच्छुक देखिएका छन् ।
केही ठूला संस्थागत निक्षेपकर्ताहरूले ब्याजदर बढ्ने आशामा ट्रेजरी बिल्सजस्ता अल्पकालीन उपकरणहरूमा लगानी गरिरहेका थिए । तर, अहिले ब्याजदर घट्न थालेपछि उनीहरू पुनः मुद्दती निक्षेपमै फर्कन थालेका छन् । बीमा कम्पनीहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थाले पनि अहिले मुद्दती निक्षेपमा पैसा राख्न थालेको देखिन्छ । यसले बैंकको स्थायित्वमा केही सहयोग पुगेको छ ।
विज्ञहरूका अनुसार, अहिले मुद्दती निक्षेप घट्नुले तत्कालै ठूलो समस्या सिर्जना नभए पनि यो दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुन सक्छ । यसले बैंकको लामो अवधिको कर्जा प्रवाह क्षमतामा असर पार्ने सम्भावना रहन्छ । यसलाई ध्यानमा राख्दै बैंकहरूले आकर्षक नयाँ योजनाहरू ल्याउने र डिजिटल बैंकिङको विस्तार गर्ने प्रयास गरिरहेका छन् ।
तथ्याङ्कमा घट्दो प्रवृत्ति
- २०७८ जेठमा: मुद्दती निक्षेपको हिस्सा ४८.५ प्रतिशत थियो।
- २०७९ जेठमा: यो बढेर ५७.१ प्रतिशत पुग्यो।
- २०८० जेठमा: यो अझै बढेर ५९.८ प्रतिशतसम्म पुगेको थियो।
- २०८१ जेठमा: यो तीव्र गतिमा घटेर ५०.२ प्रतिशतमा झरेको छ।


