सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेर वर्षौंदेखि काम नगरी अलपत्र पारिएका थप २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको निर्देशनपछि सडक विभागअन्तर्गतका विभिन्न कार्यालयले यी ठेक्का अन्त्यको तयारी गरेका हुन्। पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, इटहरी, पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयहरूले रुग्ण अवस्थामा रहेका २५ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि शुक्रबार १७ र शनिवार एक वटा गरी १८ ठेक्का तोड्ने प्रक्रिया सुरु भइसकेको छ।
सडक डिभिजन कार्यालय काठमाडौँले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच÷पाँच, पाल्पाले ४ र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक÷एक गरी २५ वटा ठेक्का किन नतोड्ने भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन्। निर्माण व्यवसायीले पटकपटक म्याद थप भए पनि काममा चासो नदिएर आयोजनाहरू अलपत्र पारेको र कार्यस्थलमा समेत अनुपस्थित रहेको भन्दै ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ।
सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाणसहित स्पष्टीकरण लिएर आधिकारिक व्यक्तिलाई कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ। यदि तोकिएको अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानुनबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्ने गरी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ। हाल सडकअन्तर्गत २५८ ठेक्का रुग्ण अवस्थामा रहेका छन्।


