Banijya News

नेपालको सार्वभौम क्रेडिट रेटिङ प्रक्रिया पुनः सुरु, कस्तो आउँला नतिजा ?

1
1.2K Shares

नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रिया पुनः सुरु भएको छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ’फिच’ को टोलीले नेपालको स्थलगत मूल्यांकन शुरू गरेको हो। यसअघि भदौमा जेनजी आन्दोलनका कारण स्थगन भएको यो प्रक्रियालाई फिचले अगाडि बढाएको अर्थ मन्त्रालयले पुष्टि गरेको छ। मंगलबारबाट शुरू भएको टोलीको स्थलगत मूल्यांकन बिहीबारसम्म चल्नेछ, जसमा नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरूको सहभागिता रहेको छ। यस मूल्यांकनमा फिचले गत रेटिङपछिको एक वर्षमा भएका परिवर्तनहरू, प्रतिबद्धताको पालना र अर्थतन्त्रका नयाँ सूचकहरूको विस्तृत अध्ययन गर्नेछ।

नेपालले गत आर्थिक वर्षको मंसिरमा पहिलोपटक सोभरेन क्रेडिट रेटिङ गराउँदा ’बीबी माइनस’ रेटिङ प्राप्त गरेको थियो, जुन स्पेकुलेटिभ ग्रेड अन्तर्गत पर्छ। सरकारले दुई वर्षसम्म मूल्यांकन र तेस्रो वर्षमा प्राविधिक सहयोगका लागि फिचलाई छनोट गरेको थियो। अर्थशास्त्री एवं पूर्वबैंकर अनलराज भट्टराईका अनुसार जेनजी आन्दोलनले केही भौतिक क्षति गरे पनि वित्तीय क्षेत्रमा स्थिरता कायम रहेकाले क्रेडिट रेटिङमा ठूलो नकारात्मक प्रभाव नपर्ने आकलन गरिएको छ। भट्टराईले पछिल्ला आर्थिक सूचकहरू सुधारोन्मुख रहेकाले नेपालको रेटिङ स्तरोन्नति हुने वा कम्तीमा सकारात्मक रहने सम्भावना रहेको तर्क गरेका छन्।

फिचले रेटिङलाई मुख्यतया इन्भेस्टमेन्ट ग्रेड र स्पेकुलेटिभ ग्रेड गरी दुई भागमा विभाजन गर्छ, जसले कर्जाको जोखिमको स्तरलाई इंगित गर्दछ। हालको ’बीबी माइनस’ रेटिङ इन्भेस्टमेन्ट ग्रेडभन्दा एक स्थान तल रहेको अवस्था हो। दोस्रो वर्षको यो रेटिङ सकिएपछि तेस्रो वर्षको रेटिङका लागि भने सरकारले फेरि रेटिङ कम्पनी छनोट गर्नुपर्नेछ।

1

Scroll to Top