Banijya News

धितोपत्र बोर्डका कर्मचारी ४८ दिनपछि काममा फर्किए

1
1.2K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का आन्दोलनरत कर्मचारीहरू अन्ततः आफ्नो नियमित काममा फर्किएका छन्। अर्थ मन्त्रालय र आन्दोलित कर्मचारीहरूबीच भएको सहमति पश्चात् कर्मचारीहरूले ४८ दिनदेखि जारी रहेको आफ्नो आन्दोलन स्थगित गरेका हुन्। अर्थ मन्त्रालयले कर्मचारीको सेवा-सुविधामा कुनै कटौती नहुने प्रतिबद्धता व्यक्त गरेपछि यो सहमति जुटेको हो।

आज बस्ने बोर्ड सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनका सम्बन्धमा थप अध्ययनका लागि एक कमिटी गठन गर्ने सहमति पनि कर्मचारीहरूसँग भएको छ। यस कमिटीले दिएको प्रतिवेदनका आधारमा आगामी प्रक्रिया अगाडि बढ्ने जनाइएको छ, जसले गर्दा कर्मचारीको माग सम्बोधन हुने बाटो खुलेको छ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा अर्थ मन्त्रालयका प्रतिनिधि उत्तरकुमार खत्री ले आन्दोलनरत कर्मचारीहरूसँग वार्ता गरेका थिए। वार्ताका क्रममा खत्रीले अर्थ मन्त्रालयको निर्देशनको अध्ययन गर्न कमिटी गठन गर्ने प्रस्ताव राखेका थिए। साथै, उनले कर्मचारीहरूले हाल पाउँदै आएको सेवा सुविधा कटौती नहुने गरी नियमावली संशोधन गरिने मौखिक वचनसमेत दिएपछि कर्मचारीहरू सहमतिमा आएका हुन्।

कर्मचारी आन्दोलनको मुख्य कारण अर्थ मन्त्रालयको गत असोज २ गतेको निर्देशन थियो। मन्त्रालयले ‘धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१’ र ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५’ लाई तत्काल खारेज गर्न निर्देशन दिएको थियो।

सो निर्देशनमा प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न समेत तत्काल कार्य प्रक्रिया सुरु गर्नुपर्ने उल्लेख थियो। यही कडा निर्देशनको विरुद्धमा धितोपत्र बोर्डका कर्मचारीहरू निरन्तर विरोधमा उत्रिएका थिए।

1

Scroll to Top