नेपाली कांग्रेसको लामो समयसम्म अनिर्णीत बनेको केन्द्रीय समितिको बैठक महाधिवेशन सम्बन्धी निर्णय नगरी सकिएको छ । सानेपामा शनिबार सकिएको बैठकले महाधिवेशन सम्बन्धमा कुनै निर्णय गरेन । बैठकपछि महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नेकुरा निर्विकल्प भएको बताएका थिए ।
केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनकाअनुसार मंसिरको २७, २८ गतेतिर विशेष महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्ने कुरा अनिवार्य रहेको पनि बताए ।
नेपाली कांग्रेस आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने पनि निर्णय गरेको उनले बताए । आगामी निर्वाचनमा भाग नलिने भन्ने राजनीतिक दलहरुलाई पनि संवादमार्फत निर्वाचनमा सहभागी हुन प्रयास गर्ने बताए ।
“फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ । त्यो सँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ । उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ,” उनले भने, “सँगै निर्वाचनका लागि सरकारलाई सहयोग, खबरदारी गर्दछ । हातहतियार बाहिर छन्, कैदीहरु फरार छन् । राजनीतिक दलहरुले निर्वाध रुपले आफ्ना गतिविधि गर्न पाउनुपर्छ । सरकार राजनीतिक दलहरुले निर्वाध आफ्ना गतिविधि गर्न पाउनुपर्नेतिर गम्भीर भइरहेको छैन । फागुन २१ भन्दा अर्को कुनैपनि निकास नेपालको अहिलेको जटिलताले पाउँदैन ।”
उनले अब विशेष महाधिवेशन गर्ने बताए । “अब निर्विकल्प कुरा भनेको विशेष महाधिवेशन हो । मंसिरको २७/२८ गतेतिर विशेष अधिवेशन गर्नुपर्छ । उत्तेजनाको नेतृत्व एउटा दलले गरिरहेको छ, शान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्दछ,” उनले भने ।


