Banijya News

कांग्रेस विशेष महाधिवेशन : आज र्‍याली प्रदर्शन, उद्घाटनको दिन छ ठाउँबाट निकालिने

1
1.1K Shares

आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्। विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो। यसैबीच, विभिन्न जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको समर्थनमा विज्ञप्ति सार्वजनिक गर्ने क्रम पनि जारी छ। महाधिवेशन नजिकिँदै जाँदा पार्टीका विभिन्न समिति र संरचनाहरू सक्रिय भइरहेका छन्।

शनिबार कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन समन्वय समितिले विशेष महाधिवेशनको समर्थनमा र्याली निकाल्ने भएको छ। समिति संयोजक तथा कांग्रेस नेतृ प्रतिमा गौतमका अनुसार र्याली शनिबार दिउँसो १ बजे विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट सुरु भई बागबजार परिक्रमा गरेर पुनः भृकुटीमण्डपमै आएर टुंगिनेछ। र्‍यालीमा सहभागी हुन समितिले महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

सुन्धाराबाट निस्किने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्ला, काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० अन्तर्गत पर्ने सबै नगर वडा समितिका प्रतिनिधि, पदाधिकारी तथा सदस्य सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पूरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ । रत्नपार्कबाट निस्किने अर्को जुलुसमा नुवाकोट, रसुवा, धादिङबाट आउने प्रतिनिधि तथा सदस्यहरु सहभागी हुनेछन् । यो जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै विशेष महाधिवेशनस्थल पुग्नेछ ।

कमलपोखरीबाट सुरु हुने जुलुसमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नगर वडा समितिहरु सहभागी हुनेछन् । यो जुलुस चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ । शंकरदेव क्याम्पसबाट सुरु हुने जुलुसमा भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका सबै नगर वडा समितिहरु सहभागी हुनेछन् । यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

कुपण्डोलबाट सुरु हुने जुलुसमा ललितपुर, मकवानपुरका प्रतिनिधि तथा नेता कार्यकर्ता सहभागी हुनेछन् । यो जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।पद्मकन्या क्याम्पसबाट सुरु हुने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्तासहित काठमाडौंका ५, ६ र ७ का सबै नगर वडा समिति सहभागी हुनेछन् । यो रुटको जुलुस पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

कांग्रेसको नियमित महाधिवेशन तोकिएको मितिमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए। विशेष महाधिवेशनको पक्षमा कांग्रेसको १४औँ महाधिवेशनका ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था रहेको छ।

1

Scroll to Top