Banijya News

बालेनको झापा–५ का जनताका लागि के छन् बाचापत्रमा ?

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनले यस घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन्, जसमा संघीय सांसदका रूपमा निर्वाचित भएपछि आफूले गर्न चाहेको काम, नीति तथा कार्यक्रम स्पष्ट रूपमा उल्लेख गरिएको छ । शाहले आफ्नो वाचापत्रलाई परम्परागत राजनीतिक घोषणापत्रभन्दा फरक शैलीमा प्रस्तुत गरेका छन् । उनले यसलाई केवल चुनावी नाराको रूपमा नभई मतदातासँग गरेको प्रत्यक्ष प्रतिबद्धताको दस्तावेजका रूपमा व्याख्या गरेका छन् । ‘वाचापत्र’ शब्द प्रयोग गरेर उनले मतदातासँग प्रत्यक्ष वाचा गर्ने भाव झल्काएका छन्, जसले उनको राजनीतिक दृष्टिकोण र शैलीलाई स्पष्ट संकेत गर्दछ । बालेन शाहको ‘झापा–५ वाचापत्र’ केवल चुनावी घोषणापत्र नभई मतदातासँग गरिएको राजनीतिक प्रतिबद्धताको दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ । शिक्षा, पूर्वाधार, कृषि, रोजगारी, महिला सशक्तीकरण, पर्यटन, स्वास्थ्य, वातावरण, सुशासन र संघीय समन्वयजस्ता विषयलाई समेट्दै उनले समावेशी विकास र पारदर्शी शासनको अवधारणा अघि सारेका छन् । अब मतदाताले उनको वाचापत्रलाई कति विश्वास गर्छन् र चुनावी परिणाममा यसले कस्तो प्रभाव पार्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

शिक्षा, पूर्वाधार र रोजगारी प्राथमिकता
वाचापत्रमा शिक्षा, पूर्वाधार विकास, कृषि तथा रोजगारीलाई मुख्य प्राथमिकताका क्षेत्रका रूपमा राखिएको छ। शाहले शिक्षा क्षेत्रमा गुणस्तर सुधार, सरकारी विद्यालयको स्तर उकास्ने, तथा सबै वर्गका बालबालिकालाई समान अवसर सुनिश्चित गर्ने लक्ष्य लिएका छन्। उनका अनुसार गरिब तथा विपन्न परिवारका बालबालिकाले पनि निजी विद्यालयसरह गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमा सुनिश्चित गरिनेछ। शिक्षा प्रणालीलाई आधुनिक र व्यावहारिक बनाउन पाठ्यक्रम सुधार, प्रविधि प्रयोग र शिक्षकको क्षमता अभिवृद्धिमा जोड दिने उल्लेख गरिएको छ। पूर्वाधार विकासतर्फ उनले सडक, पुल, सिँचाइ, खानेपानी र ऊर्जा जस्ता आधारभूत संरचना विस्तारलाई प्राथमिकतामा राखेका छन्। झापा–५ क्षेत्रमा रहेका ग्रामीण र शहरी पूर्वाधारको असमानता घटाउने र समावेशी विकास सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्। कृषि तथा रोजगारी क्षेत्रमा उनले स्थानीय स्रोत र सम्भावनाको उपयोग गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। कृषि उत्पादनलाई बजारसँग जोड्ने, कृषकलाई आधुनिक प्रविधि र वित्तीय सेवामा पहुँच दिलाउने तथा कृषि उद्योग प्रवद्र्धन गर्ने उनको प्रतिबद्धता छ।

महिला, बालबालिका र सामाजिक समावेशिता
महिला तथा बालबालिकाको सशक्तीकरणलाई पनि वाचापत्रमा विशेष स्थान दिइएको छ। शाहले लैङ्गिक समानता प्रवद्र्धन, महिलाको आर्थिक सहभागिता वृद्धि र बालबालिकाको संरक्षण तथा अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। उनले बालबालिकामाथि हुने हिंसा, श्रम शोषण र मानव तस्करीविरुद्ध कडा कदम चाल्ने, साथै महिला उद्यमशीलता प्रवद्र्धनका लागि नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताएका छन्।

पर्यटन, उद्योग र आर्थिक विकास
झापा–५ क्षेत्रमा रहेको पर्यटन सम्भावनालाई उपयोग गरी स्थानीय अर्थतन्त्र बलियो बनाउने योजना पनि वाचापत्रमा समेटिएको छ। शाहले प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने र स्थानीय उद्योग विकासमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन्। साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउने नीति अघि सारिएको छ ।

खेलकुद, स्वास्थ्य र भूमि व्यवस्थापन

खेलकुद, स्वास्थ्य सेवा, भूमि व्यवस्थापन र वातावरण संरक्षण पनि वाचापत्रका प्रमुख एजेन्डा हुन्। शाहले युवालाई खेलकुदमार्फत सकारात्मक दिशामा लैजाने, खेलकुद पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि नीति निर्माणमा भूमिका खेल्ने बताएका छन्। स्वास्थ्य सेवामा पहुँच विस्तार, सरकारी अस्पतालको सेवा सुधार र ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकास गर्ने योजना उनले अघि सारेका छन्। भूमि व्यवस्थापनमा अव्यवस्थित बसोबास, भूमिहीन समस्या र भूमिसम्बन्धी विवाद समाधानका लागि कानुनी सुधार र कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता पनि वाचापत्रमा उल्लेख छ।

वातावरण, सुशासन र भ्रष्टाचारविरुद्ध संघर्ष
वाचापत्रमा वातावरण संरक्षण र सुशासनलाई पनि विशेष प्राथमिकता दिइएको छ। शाहले स्वच्छ वातावरण, हरित विकास र जलवायु परिवर्तनसँग जुध्न संघीय सांसदका रूपमा नीति निर्माणमा भूमिका खेल्ने बताएका छन्। सबैभन्दा महत्वपूर्ण विषयका रूपमा उनले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई अघि सारेका छन्। उनले संसद्को अग्रपंक्तिमा उभिएर बेथिति र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। “राष्ट्रहित विपरीत कुनै पनि सम्झौता गर्ने छैन,” उनले वाचापत्रमा उल्लेख गरेका छन्। सार्वजनिक सेवा प्रणालीलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन कानुनी र संस्थागत सुधारमा सक्रिय भूमिका खेल्ने उनले बताएका छन्।

संघीय संरचना र तीन तहको सरकारबीच समन्वय
शाहले संघीय संरचनालाई मजबुत बनाउने र स्थानीय तथा प्रदेश सरकारलाई संवैधानिक अधिकार प्रत्यायोजन सुनिश्चित गर्न संघीय सांसदको भूमिकालाई प्रयोग गर्ने बताएका छन्।
उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य बिना विकास सम्भव छैन। त्यसैले रास्वपा सरकार गठन भएमा तीन तहका सरकारबीच सहकार्य गरी पाँच वर्षभित्र वाचापत्रमा उल्लेख गरिएका काम सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन्।

राजनीतिलाई सेवाका रूपमा लिने दृष्टिकोण
बालेन शाहले आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्दै राजनीतिलाई पेशा नभई सेवाको रूपमा लिएको बताएका छन्। उनले सत्ता, पद वा लाभभन्दा जनताको सेवा नै आफ्नो मुख्य उद्देश्य भएको उल्लेख गरेका छन्। उनले जनतासँग प्रत्यक्ष संवाद, पारदर्शी कार्यशैली र परिणाममुखी राजनीतिमा विश्वास गर्ने धारणा व्यक्त गरेका छन्।

जनताको अपेक्षाअनुसार काम गर्ने संकल्प वाचापत्रको अन्त्यमा शाहले जनताको अपेक्षा अनुसार काम गर्न आएको र त्यसका लागि अवसर दिन मतदातालाई आग्रह गरेका छन्। ‘जनअपेक्षा अनुसार काम गर्न आएको हुँ, काम गर्न दिनुहोला’ भन्ने वाक्यांशमार्फत उनले मतदातासँग प्रत्यक्ष भावनात्मक अपील गरेका छन्।

राजनीतिक सन्देश र चुनावी रणनीति राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहको वाचापत्रले रास्वपाको नयाँ राजनीतिक धारलाई प्रतिबिम्बित गर्छ। परम्परागत दलहरूका घोषणापत्रभन्दा फरक, उनले भ्रष्टाचारविरुद्ध संघर्ष, सेवा–मुखी राजनीति र संघीय संरचनाको प्रभावकारी कार्यान्वयनलाई मुख्य सन्देशका रूपमा अघि सारेका छन्। झापा–५ मा उनले स्थानीय विकास, रोजगारी र सुशासनलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। यसले युवा मतदाता र परिवर्तन चाहने वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top