काठमाडौँ महानगरपालिकाले इन्धन खपत घटाउने उद्देश्यसहित ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। इन्धन कोटामा कटौती गरेपछि महानगरले अधिकारीहरूलाई उपलब्ध गराइने सवारी साधनलाई आलोपालो प्रयोग गर्ने प्रणाली लागू गरेको हो।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल का अनुसार विश्वव्यापी रूपमा देखिएको इन्धन अभाव र त्यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। उनका अनुसार अहिलेको अवस्थामा पहिलेकै शैलीमा सवारी सञ्चालन गरिरहँदा अत्यावश्यक सेवाका लागि समेत इन्धन अभाव हुन सक्ने जोखिम रहेको छ।
डंगोलले इन्धनको प्रयोग घटाउनु नै अहिलेको मुख्य विकल्प भएको बताउँदै ‘कार पुलिङ’ कार्यक्रममार्फत सम्भावित संकटलाई न्यून गर्न खोजिएको स्पष्ट पारिन्। उनले यो कदमले इन्धन बचत मात्र नभई सवारी साधनको अनावश्यक प्रयोगमा समेत कमी ल्याउने विश्वास व्यक्त गरिन्।
महानगरपालिकाले यसअघि ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयलाई कार्यान्वयनमा प्रभावकारी बनाउन अब ‘कार पुलिङ’ प्रणाली लागू गरिएको हो।
यस कार्यक्रमअन्तर्गत बसोबास क्षेत्रका आधारमा एउटै दिशाबाट आउने–जाने अधिकारीहरूको समूह बनाइएको छ। समूहका सदस्यहरूले पालैपालो आफ्नो सवारी साधन प्रयोग गरी अन्य सहकर्मीलाई समेत ल्याउने–लाने व्यवस्था गरिएको छ।
महानगरका अनुसार यस प्रणालीले कार्यालय आउने–जाने सवारी साधनको संख्या घटाउनेछ र इन्धन खपतमा उल्लेख्य कमी ल्याउनेछ। साथै, सहरको ट्राफिक चाप कम गर्न पनि यसले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।


