नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका लागि इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को २०८२ चैत ३१ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति दिने व्यवस्था पुनः सुरु गरिएको हो।
यसअघि वैदेशिक रोजगार विभाग ले पश्चिम एसिया क्षेत्रमा बढ्दो द्वन्द्व र सुरक्षा जोखिमका कारण ती देशहरूमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरेको थियो। विशेषगरी इरान र अमेरिका बीचको तनाव तथा इजरायलसँगको द्वन्द्वले खाडी क्षेत्र अस्थिर बनेपछि नेपाली कामदारको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको थियो।
सरकारले २०८२ फागुन १७ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकका लागि श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दुवै स्थगन गरेको थियो। त्यसबेला इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि क्षेत्रीय सुरक्षा अवस्था जटिल बनेको थियो। यसले ती देशहरूमा कार्यरत तथा जाने तयारीमा रहेका नेपाली कामदारहरूको सुरक्षामा गम्भीर चुनौती थपिएको ठहर सरकारको थियो।
पछिल्लो समय अवस्था केही सहज बन्दै गएको निष्कर्षसहित सरकारले चरणबद्ध रूपमा पुनः श्रम स्वीकृति खुला गर्दै आएको छ। यसैक्रममा २०८२ चैत ३ गते नै साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिसकिएको थियो। अब इजरायलसहित थप चार देशमा पनि उक्त व्यवस्था विस्तार गरिएको हो।
परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले निर्णय लिएको जनाएको छ। ईआरटीले ती देशहरूको सुरक्षा अवस्थाबारे मूल्यांकन गर्दै जोखिम तुलनात्मक रूपमा घटेको निष्कर्ष निकालेपछि पुनः श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको हो।
यद्यपि, इराकका हकमा भने अघिल्लो निर्णय यथावत् राखिएको छ। २०८२ पुस ११ को निर्णयअनुसार नै त्यहाँ श्रम स्वीकृति प्रदान गरिने विभागले स्पष्ट पारेको छ। साथै, श्रम स्वीकृति (पहिलोपटक जाने) सम्बन्धी निर्णय भने ती देशहरूको अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्रै गरिने श्रम मन्त्रालयको भनाइ छ।
सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा निर्भर हजारौं नेपाली कामदारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी पुनः श्रम स्वीकृति खुला भएपछि पहिले नै कार्यरत श्रमिकहरू पुनः आफ्नो कार्यस्थल फर्कन सहज हुनेछन्। तथापि, सरकारले सुरक्षा अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यक परेमा थप निर्णय लिने संकेत दिएको छ।


