भक्तपुर ठिमीको मित्रीश्री पाठशालाले बैंशाख ६ गते देखिनै नयाँ कक्षा संचालन गरेको छ । यो स्कुलले केन्द्रीय सरकारले तोकोको निर्देशन भन्दा बाहिर गएर विद्यालय संचालन गरेको हो । यो त प्रतिनिधी बिद्यालय मात्र हो, मित्रश्री जस्तो देशिभरका अधिकांश बिद्यालयले यसरी नै केन्द्रीय सरकारले तोकेको बैंशाख १५ अगाडि नै भर्ना खुलएर पठनापाठन अगाडि बढाएका हुन् ।
नयाँ शैक्षिक सत्र सुरु गर्ने समयतालिकालाई लिएर संघीय सरकार र स्थानीय तहबीच मतभेद देखिएको छ। संघीय सरकारले तोकेको मिति विपरीत देशका विभिन्न स्थानीय तहहरूले भर्ना अभियानसँगै पठनपाठन पनि सुरु गरेका छन्, जसले शिक्षा व्यवस्थापनमा अधिकारको सीमारेखा र कार्यान्वयनबारे बहसलाई थप चर्काएको छ।
मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले देशभरका विद्यालयमा वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख २१ देखि नियमित पठनपाठन प्रारम्भ गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोही निर्णयअनुसार सबै स्थानीय तहलाई परिपत्र गर्दै तयारीका लागि प्रारम्भिक दुई साता योजना निर्माणमा केन्द्रित हुन आग्रह गरेको थियो। यस अवधिमा विद्यालयहरूले वार्षिक कार्यतालिका, शैक्षिक योजना र शिक्षकको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम तयार गर्नुपर्ने बताइएको थियो।
तर स्थानीय तहहरूले संविधानमा उल्लेख व्यवस्था र विद्यार्थीको शैक्षिक उन्नयनमा बाधा नहोस् भनेर पूर्वनिधारित शैक्षिक क्यालेन्डरअनुसार नै भर्ना अभियानसँगै पठनपाठन सुरु गरेको दाबी गरेका छन् । स्थानीय तहहरूले विगतझैँ आफ्नै शैक्षिक क्यालेन्डरलाई निरन्तरता दिँदै पहिले नै भर्ना र पठनपाठन सुरु गरेका छन्। उनीहरूको तर्कमा संविधानले आधारभूत र माध्यमिक शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको हुँदा संघीय निर्देशन बाध्यकारी नहुने दाबी छ।
गाउँपालिका महासंघ, नगरपालिका महासंघले पनि संघीय सरकारको परिपत्रको विषयमा प्रश्न उठाउँदै विद्यार्थी भर्ना, पठनपाठनलगायत शैक्षिक गतिविधि अघि बढाउन सूचित गरेका छन् । यसले पनि संघीय सरकारको निर्णय कार्यान्वयनमा चुनौती दिएको छ ।
प्युठानको झिमरुक गाउँपालिकाले वैशाख सुरु हुनुअघि नै सूचना जारी गर्दै विद्यालयहरूलाई प्रारम्भिक दिनहरूदेखि नै भर्ना र कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो। गाउँपालिका नेतृत्वले शिक्षा व्यवस्थापन आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै संघीय हस्तक्षेपप्रति असन्तुष्टि जनाएको छ। उनीहरूको भनाइमा संविधान र प्रचलित कानुनले दिएको अधिकारअनुसार नै काम गरिएको हो।
यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिकाले पनि प्रारम्भिक वैशाखदेखि नै भर्ना प्रक्रिया अघि बढाएको छ। स्थानीय नेतृत्वले कक्षा १२ सम्मको शिक्षा व्यवस्थापन स्थानीय सरकारको अधिकार भएको भन्दै संघीय सरकारको निर्णयभन्दा आफ्नै नीतिलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्।
स्थानीय तहका छाता संगठनहरूले समेत संघीय सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्। उनीहरूले शैक्षिक गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्थानीय स्तरमै निर्णय गरी विद्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन्। यसले संघीय संरचनामा शिक्षा क्षेत्रको अधिकार बाँडफाँटबारे व्यावहारिक चुनौती देखाएको विश्लेषण गरिएको छ।
उता, शिक्षा मन्त्रालय भने यस अवस्थाप्रति असन्तुष्ट देखिएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्रिपरिषद्को निर्णय सबै तहले पालना गर्नुपर्ने भए पनि केही स्थानीय तहले मनोमानी ढंगले कार्यक्रम सञ्चालन गरिरहेका छन्। मन्त्रालयले यस विषयमा स्पष्ट जानकारी माग गर्ने र आवश्यक परे कदम चाल्ने संकेत गरेको छ।
यसबीच, निजी विद्यालयहरूको शुल्कसम्बन्धी गतिविधिले पनि अभिभावकमा असन्तोष बढाएको छ। कतिपय विद्यालयहरूले पठनपाठन सुरु नभए पनि भर्ना शुल्क र मासिक शुल्क माग्न थालेको गुनासो आएको छ। अभिभावकहरू विद्यालय सञ्चालनको वास्तविक अवस्था स्पष्ट नभई शुल्क लिनु अनुचित भएको बताउँछन्।
मन्त्रालयले भने शुल्कमा मनपरी नगर्न र अभिभावकलाई अनावश्यक आर्थिक भार नपार्न विद्यालयहरूलाई चेतावनी दिएको छ। गुनासो प्रमाणित भए कारबाही गरिने पनि जनाएको छ।
संघीय सरकार र स्थानीय तहबीचको यो मतभेदले शिक्षा क्षेत्रको समन्वय र नीति कार्यान्वयनमा चुनौती थपेको छ। दीर्घकालीन समाधानका लागि स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ।


