नेपालको पुँजी बजार पछिल्लो समय गम्भीर अनियमितता, मिलेमतो र कानुनी छिद्रको दुरुपयोगका घटनाले प्रभावित बन्दै गएको तथ्य पछिल्ला छानबिन प्रतिवेदनहरूले उजागर गरेका छन्। विशेषगरी विवादास्पद व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल तथा उनीहरूसँग आबद्ध अन्य व्यवसायीहरूको गतिविधिले सेयर बजारको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेका विभिन्न जाँचबुझ प्रतिवेदनहरूले बजारमा योजनाबद्ध चलखेल, उधारो कारोबार, कम्पनीको फन्ड दुरुपयोग तथा कृत्रिम मूल्य वृद्धिको संगठित जालो उजागर गरेका छन् ।
सेबोनले गरेको विस्तृत अनुसन्धान अनुसार दीपक भट्ट मुख्य अभियुक्तका रूपमा देखिएका छन्, जसले विभिन्न ब्रोकर, बीमा कम्पनी तथा सहायक संस्थाहरूको मिलेमतोमा अर्बौं रुपैयाँ बराबरको उधारो सेयर कारोबार सञ्चालन गरेका थिए । भट्टसँगै सुभी अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर र सन्दीप चाचान जस्ता व्यक्तिहरू पनि यस प्रकरणमा संलग्न रहेको प्रतिवेदनले औंल्याएको छ । अनुसन्धान समितिका अनुसार भट्टले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) सँग मिलेमतो गरी कुनै अग्रिम भुक्तानी नगरी ३ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर खरिद गरेका थिए, जसमा करिब २ अर्ब ८९ करोड रुपैयाँ अझै बाँकी रहेको देखिएको छ । यस्तो अभ्यासले बजारको प्राकृतिक माग–आपूर्तिको सन्तुलन बिगार्दै मूल्यमा कृत्रिम उतारचढाव ल्याएको निष्कर्ष निकालिएको छ ।
सेबोनको प्रतिवेदनले भट्ट समूहले विभिन्न कम्पनीहरूको फन्ड दुरुपयोग गरी सेयरको मूल्य बढाउने र पुनः आफ्नै नियन्त्रणमा रहेका कम्पनीहरूलाई महँगो मूल्यमा बिक्री गर्ने रणनीति अपनाएको देखाएको छ । विशेषगरी हिमालयन रिइन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन क्यापिटल सर्भिसेस लगायत संस्थाहरूको रकम प्रयोग गरी बजारमा कृत्रिम माग सिर्जना गरिएको थियो । एउटै व्यक्तिले विभिन्न कम्पनीहरूको ट्रेडिङ व्यवस्थापन प्रणाली सञ्चालन गरी पर्दा पछाडिबाट कारोबार नियन्त्रण गर्ने गरेको तथ्यले यो प्रकरणलाई अझ गम्भीर बनाएको छ ।
प्रतिवेदन अनुसार भट्टले डिबेन्चर कारोबारमा पनि व्यापक अनियमितता गरेका छन्। उनले नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एसबीआई बैंक तथा सिद्धार्थ बैंक का डिबेन्चरहरू सस्तो मूल्यमा खरिद गरी आफ्नै सम्बन्धित कम्पनीहरूलाई उच्च मूल्यमा बिक्री गरेका थिए। उदाहरणका लागि, नबिल बैंकको डिबेन्चर करिब १० करोड ८० लाखमा खरिद गरी ११ करोड ८१ लाखभन्दा बढीमा बिक्री गरिएको थियो । यस्ता कारोबारले व्यक्तिगत लाभ लिने उद्देश्यले “एक खल्तीबाट अर्को खल्तीमा पैसा सार्ने” प्रवृत्ति पुष्टि गरेको छ ।
भट्ट समूहले नेपाल पुनर्बी मा कम्पनीको सेयर मूल्यमा समेत योजनाबद्ध चलखेल गरेको देखिएको छ । प्रतिवेदन अनुसार उक्त कम्पनीको सेयर मूल्य १४ सय ६१ रुपैयाँबाट १६ सय ८६ रुपैयाँसम्म कृत्रिम रूपमा बढाइएको थियो । यस्तो गतिविधिले सामान्य लगानीकर्तालाई भ्रमित पार्दै बजारमा जोखिम बढाएको उल्लेख गरिएको छ ।
यस प्रकरणमा संलग्न भृकुटी स्टक ब्रोकिङ कम्पनीको लाइसेन्स सेबोनले निलम्बन गरिसकेको छ। कम्पनीले ग्राहकको रकम र सेयर दुरुपयोग गर्दै एक ग्राहकको दायित्व अर्को ग्राहकको कारोबार मिलानमा प्रयोग गरेको, साथै उधारोमा सेयर खरिद गर्न दिने जस्ता नियमविपरीत गतिविधि सञ्चालन गरेको पाइएको छ । कम्पनीको लगानीकर्ताप्रति ५ अर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको देखिएको छ, जसले बजारको स्थायित्वमा गम्भीर असर पार्ने संकेत गर्दछ ।
अर्कोतर्फ, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवालमाथि पनि गम्भीर आरोप लागेका छन्। अनुसन्धान अनुसार उनले कानुनी व्यवस्था छल्न ‘अंशबन्डा’ को बहाना प्रयोग गरी आफ्नो नाममा रहेको सेयर छोरा कृषिव अग्रवाल को नाममा स्थानान्तरण गरेका थिए । अध्यक्ष पदमा रहँदा सेयर बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै उनले अप्रत्यक्ष रूपमा सेयर बिक्री गरी करोडौं रुपैयाँ प्राप्त गरेको देखिएको छ । अझ चकित पार्ने तथ्य के छ भने, सेयर बिक्रीबाट प्राप्त रकममध्ये करिब ७० प्रतिशत रकम पुनः सुलभ अग्रवालकै खातामा फर्किएको थियो, जसले सम्पूर्ण कारोबार एकै व्यक्तिको नियन्त्रणमा रहेको संकेत गर्दछ ।
अनुसन्धानले देखाएको अर्को गम्भीर पक्ष भनेको एउटै आईपी एड्रेस, एउटै इमेल र सम्पर्क विवरण प्रयोग गरी विभिन्न व्यक्तिको नाममा कारोबार सञ्चालन गरिएको हो। यसले सेयर बजारमा ‘फ्रन्ट’ प्रयोग गरी वास्तविक कारोबारी लुकाउने प्रवृत्ति उजागर गरेको छ । यस्तो कार्यलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार जालसाजीयुक्त कारोबार मानिन्छ ।
सेबोनले तयार पारेका दुवै प्रतिवेदनहरूले प्रारम्भिक प्रमाणका आधारमा दीपक भट्ट, सुलभ अग्रवाल, राजबहादुर शाह, शेखर गोल्छा लगायतलाई धितोपत्र ऐनको दफा १०१ अन्तर्गत हदैसम्मको कारबाही गर्न सिफारिस गरेका छन् । साथै, अर्बौँ रुपैयाँ बराबरको शंकास्पद कारोबार देखिएकाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत थप अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ ।
यो प्रकरणले नेपालको पुँजी बजारमा संस्थागत कमजोरी, नियामकीय चुनौती र प्रभावशाली व्यवसायीहरूको पहुँचका कारण सिर्जित जोखिमलाई उजागर गरेको छ । बजारमा पारदर्शिता र उत्तरदायित्व कायम नगरेसम्म यस्ता घटनाले लगानीकर्ताको विश्वास कमजोर पार्ने निश्चित छ । विशेषगरी साना लगानीकर्ताहरू कृत्रिम मूल्य वृद्धि र भ्रामक कारोबारको सिकार बन्ने खतरा उच्च देखिएको छ ।
यस घटनाले नियामक निकायहरूलाई अझ सशक्त निगरानी, प्रविधिमैत्री अनुगमन प्रणाली र कडा कानुनी कार्यान्वयनको आवश्यकता स्पष्ट पारेको छ ।


