सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार उद्योग पुनर्जीवनको प्रारम्भिक चरणअन्तर्गत नेपाली सेनामार्फत परीक्षण उत्पादनको काम अघि बढिरहेको छ।
सरकारले सय दिनको कार्यप्रगति सार्वजनिक गर्ने अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा वित्तीय प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिएको थियो। त्यसपछि अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेकाले परीक्षण उत्पादन सुरु गर्ने आधार तयार भएको हो।
उनले उद्योग पुनः सञ्चालनको पहिलो चरणमा उद्योगका मेसिन, उपकरण तथा उत्पादन क्षमताको परीक्षण गरिने बताए। परीक्षण उत्पादनबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी अघि बढाइने सरकारी योजना रहेको उनले स्पष्ट पारे।
सचिव राउतका अनुसार हेटौँडा कपडा उद्योग मात्र होइन, विगतदेखि बन्द वा समस्याग्रस्त अवस्थामा रहेका अन्य सरकारी उद्योगहरूको अवस्था सुधार गर्न पनि सरकारले समानान्तर रूपमा काम गरिरहेको छ। अहिले सात वटा बन्द तथा रूग्ण उद्योगको सम्पत्ति र दायित्वको विस्तृत मूल्यांकन (ड्यु डिलिजेन्स एसेसमेन्ट–डिडिए) भइरहेको उनले जानकारी दिए।
उनले डिडिए प्रतिवेदन तयार भएपछि सम्बन्धित उद्योगहरू सञ्चालन गर्ने मोडालिटी सरकारले तय गर्ने बताए। प्रतिवेदनका आधारमा उद्योग सरकारी व्यवस्थापनमा चलाउने, निजी क्षेत्रसँग सहकार्य गर्ने वा अन्य उपयुक्त विकल्प अपनाउने भन्ने विषयमा निर्णय गरिने उनको भनाइ थियो।
सरकारले उद्योग पुनर्जीवनसँगै आवश्यक कानुनी तथा प्रशासनिक अवरोध हटाउने काम पनि अघि बढाएको सचिव राउतले बताए। यसैक्रममा मन्त्रिपरिषद्ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका चुनढुंगा र रातो माटो खानीको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरिसकेको छ। ती खानीको लाइसेन्स अवधि समाप्त भएपछि उद्योग सञ्चालनमा समस्या उत्पन्न हुने अवस्था रहेकाले समयमै नवीकरण गरिएको उनले बताए।
सरकारले बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याएर स्वदेशी उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा औद्योगिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ। लामो समयदेखि निष्क्रिय रहेका सरकारी उद्योगलाई पुनर्जीवित गर्ने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनलाई महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ।
मन्त्रालयका अनुसार आगामी दिनमा परीक्षण उत्पादनको प्रगति, डिडिए प्रतिवेदनको निष्कर्ष तथा आवश्यक नीतिगत निर्णयका आधारमा उद्योग पुनः सञ्चालनको थप कार्ययोजना सार्वजनिक गरिनेछ। सरकारको उद्देश्य बन्द उद्योगलाई पुनः उत्पादनशील बनाउँदै औद्योगिक क्षेत्रलाई चलायमान बनाउने रहेको मन्त्रालयले जनाएको छ।


