Banijya News

रौतहटमा फेरि अर्को युवकद्धारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा लगियो

1
1.1K Shares

रौतहटको गरुडा नगरपालिका–९ गम्हरियामा एक २८ वर्षीय युवकले आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका छन्। घटनापछि उनलाई प्रारम्भिक उपचार गराएर थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार घाइते हुने व्यक्ति गौतम कुमार सहनी हुन्। प्रारम्भिक अनुसन्धानबाट उनी केही समयदेखि मानसिक तनावमा रहेको खुलेको प्रहरीले जनाएको छ। मंगलबार राति भएको घटनापछि परिवारका सदस्यले तत्काल उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनलाई विशेष उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको हो। प्रहरीका अनुसार सहनीको शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। हाल उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा राखिएको जनाइएको छ।

अस्पतालबाट घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको थियो। प्रहरीले घटनाका सबै पक्षबारे जानकारी संकलन गरिरहेको र वास्तविक कारण खुलाउने प्रयास भइरहेको जनाएको छ। सहनी गरुडा बजारस्थित झाझ पुल नजिक सानो होटल सञ्चालन गर्दै आएका थिए। सोही व्यवसायबाट उनले परिवारको जीविकोपार्जन गर्दै आएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यदि प्रारम्भिक अनुसन्धानमा नयाँ तथ्य फेला परे त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

1

Scroll to Top