नेपालको ऊर्जा क्षेत्रमा आर्थिक वर्ष २०८२/०८३ एक ऐतिहासिक मोडका रूपमा दर्ज भएको छ। जलविद्युत् उत्पादनमा निरन्तर वृद्धि, भारतसँगको विद्युत् व्यापारको विस्तार, बंगलादेशसँग सुरु भएको त्रिपक्षीय विद्युत् कारोबार तथा सीमापार प्रसारण पूर्वाधारको सुदृढीकरणका कारण नेपालले पहिलोपटक विद्युत् व्यापारबाट उल्लेखनीय खुद आम्दानी गर्न सफल भएको हो।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार समीक्षा वर्षमा नेपालले भारत र बंगलादेशतर्फ विद्युत् निर्यात गरेर कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो, जसले नेपालको ऊर्जा क्षेत्र तीव्र गतिमा निर्यातमुखी बन्दै गएको संकेत गरेको छ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरेको थियो। त्यसबाट १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो। तर समीक्षा वर्षमा निर्यात परिमाण उल्लेखनीय रूपमा बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। अर्थात्, निर्यातको मात्रा मात्रै ६२.८९ प्रतिशत ले वृद्धि भएको छ।
विद्युत् प्राधिकरणका अनुसार भारतको ऊर्जा एक्सचेन्ज (पावर मार्केट), दीर्घकालीन द्विपक्षीय सम्झौता तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिट का दरले विद्युत् बिक्री भएको हो। यसले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित अतिरिक्त विद्युत्लाई अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक रूपमा उपयोग गर्न सकिने सम्भावना अझ बलियो भएको देखाएको छ।
निर्यात आम्दानीमा वृद्धि हुँदा विद्युत् आयातमा भने उल्लेखनीय कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्न १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। समीक्षा वर्षमा आयात परिमाण ३१.५७ प्रतिशत ले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिट मा सीमित रह्यो। यससँगै आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ मा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशत कम हो।
निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ मध्ये आयातमा खर्च भएको रकम कटाउँदा नेपालले समीक्षा वर्षमा विद्युत् व्यापारबाट मात्रै १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खुद बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ मात्र रहेको थियो। यसरी एक वर्षमै खुद बचत ३१३ प्रतिशत ले बढ्नु नेपालको ऊर्जा इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ।


