Banijya News

बुटवल धागो कारखाना ब्युँताउने तयारी, उद्योगी भन्छन्-‘पहिले सञ्चालनको मोडालिटी टुंग्याऊ’

1
1.1K Shares

करिब दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारीसँगै बुटवलका उद्योगी-व्यवसायीमा नयाँ आशा पलाएको छ। सरकारले कारखानाको सम्पत्ति र दायित्वको मूल्याङ्कन अघि बढाएपछि लामो समयदेखि निष्क्रिय रहेको उद्योग फेरि सञ्चालनमा आउने सम्भावना बढेको हो। तर उद्योगीहरूले विगतमा जस्तै अध्ययन, अनुगमन र मूल्याङ्कनमा मात्रै सीमित भएर कारखाना सञ्चालनको विषय अलपत्र नपार्न सरकारलाई खबरदारी गरेका छन्। उनीहरूको मुख्य जोड कारखाना कुन ढाँचामा सञ्चालन गर्ने भन्ने विषय सुरुमै स्पष्ट पार्नुपर्नेमा छ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं केन्द्रीय सदस्य हरिप्रसाद आचार्यले धागो कारखाना सञ्चालनको विषयलाई राजनीतिक प्रतिष्ठाको विषय नभई आर्थिक विकासको योजनाका रूपमा लिनुपर्ने बताए। उनका अनुसार उद्योग सञ्चालन गर्दा कारखानालाई मात्र केन्द्रमा राखेर पुग्दैन, यससँग जोडिने कपास उत्पादन, कपडा उद्योग, रोजगारी र बजारलाई समेत एउटै शृङ्खलामा जोडेर योजना बनाउन आवश्यक छ। “सरकारले सबैभन्दा पहिले कुन मोडालिटीबाट कारखाना सञ्चालन गर्ने हो, त्यो स्पष्ट गर्नुपर्छ,” आचार्यले भने, “नयाँ प्रविधि, उत्पादन लागत र बजारको वास्तविक अवस्था अध्ययन गरेर मात्रै लगानीको निर्णय गर्नुपर्छ।” 

उनका अनुसार विगतमा सरकारी अनुदान वा लगानीका आधारमा उद्योग सञ्चालन गर्ने प्रयास भए पनि बजार र व्यवस्थापन पक्षलाई पर्याप्त ध्यान नदिँदा अपेक्षित परिणाम आउन सकेन। त्यसैले यसपटक पुरानै ढाँचा दोहोर्याउन नहुने उनको भनाइ छ।

पीपीपी मोडालिटीमा जानुपर्ने सुझाव

बुटवलका उद्योगी तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले सरकार आफैंले प्रत्यक्ष रूपमा उद्योग सञ्चालन गर्नुभन्दा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडालिटी उपयुक्त हुने बताए। उनका अनुसार कारखानाको व्यवस्थापन राजनीतिक प्रभावबाट मुक्त राख्दै व्यावसायिक व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेछ। राजनीतिक भागबन्डाका आधारमा अध्यक्ष वा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने पुरानो प्रवृत्ति दोहोरिए उद्योग पुनः घाटामा जाने जोखिम रहने उनले बताए। “सीईओलाई स्पष्ट लक्ष्य दिएर नियुक्त गर्नुपर्छ। उसको कार्यसम्पादनको नियमित मूल्याङ्कन र अनुगमन सञ्चालक समितिले गर्नुपर्छ,” ज्ञवालीले भने।

उनले विगतमा नेपाली धागोको बजार राम्रो हुँदाहुँदै पनि राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी र कर्मचारीसम्बन्धी समस्याका कारण उद्योग बन्द भएको बताए। पुनः सञ्चालन गर्दा उत्पादन, बजार, लागत र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

पुराना संरचना अझै उपयोग गर्न सकिने

बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा कारखानामा स्थानीयको तर्फबाट सेयर लगानी गरेका जीवनप्रसाद बोझाका अनुसार कारखानाको भौतिक पूर्वाधार अझै पूर्ण रूपमा नष्ट भइसकेको छैन। चीनबाट ल्याइएका मेसिन तथा उपकरणमध्ये केही मर्मत गरेर सञ्चालन गर्न सकिने र आवश्यक उपकरण भने नयाँ प्रविधिअनुसार थप गर्न सकिने उनको भनाइ छ। बोझाले बुटवल धागो कारखानालाई बाँकेको कपास उद्योग र हेटौँडा कपडा उद्योगसँग जोडेर समग्र औद्योगिक शृङ्खला निर्माण गर्नुपर्ने सुझाव दिए। यस्तो संरचना विकास गर्न सके नेपाली सेना, नेपाल प्रहरी र सरकारी कर्मचारीका पोसाक उत्पादन गर्न सकिने तथा स्वदेशी बजारसँगै भारतलगायत विदेशी बजारमा समेत निर्यातको सम्भावना रहने उनको दाबी छ।

सरकारको मूल्याङ्कन प्रक्रिया अघि बढ्यो

कारखाना पुनः सञ्चालनको तयारीअन्तर्गत अहिले सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले कारखानाको वास्तविक अवस्था अध्ययन गरिरहेको हो। अर्थ मन्त्रालयबाट कृष्णकुमार भट्टराईको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले असार ५ गतेदेखि कारखानाको स्थलगत अध्ययन थालेको थियो। टोलीमा दुई इन्जिनियर, दुई चार्टर्ड एकाउन्टेन्ट र एक कानुनविज्ञ छन्। टोलीले कारखानाको भवन, मेसिनरी, उत्पादन पूर्वाधार, सम्पत्ति तथा दायित्व, सम्भावित बजार, आवश्यक लगानी र पुनः सञ्चालनका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गरिरहेको छ। करिब दुई महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी टोलीलाई दिइएको छ।

प्रारम्भिक अध्ययन पूरा गरेपछि पनि टोलीले पटक-पटक कारखाना परिसर पुगेर थप तथ्य संकलन गरिरहेको छ। कारखानामा रहेका मेसिन सञ्चालन गर्न सकिने वा नसकिने, मर्मतका लागि लाग्ने लागत र नयाँ उपकरण आवश्यक पर्ने अवस्थाबारे समेत अध्ययन भइरहेको बताइएको छ। सरकार निकटका केही व्यवसायीले भारतीय प्राविधिकलाई समेत ल्याएर कारखानाको मेसिनरी र सम्भावित उत्पादन क्षमताबारे छुट्टै अध्ययन गरिरहेको बताइएको छ।

दाबी–हरहिसाब माग

सम्पत्ति तथा दायित्व मूल्याङ्कनकै क्रममा बुटवल धागो कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै उद्योगसँग सम्बन्धित बाँकी हरहिसाब तथा दाबी भए पेस गर्न आग्रह गरेको छ। अदालत वा अन्य निकायबाट भएको फैसला वा निर्णयअनुसार लिनदिन बाँकी रहेको रकम तथा अन्य दाबी भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल–१० स्थित उद्योग परिसरमा पेस गर्न भनिएको छ। उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका व्यक्ति तथा निकायलाई समेत सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको अवधिमा कुनै दाबी नपरेमा प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाइने र त्यसपछि उद्योगमाथि नयाँ दाबी नलाग्ने कारखानाले जनाएको छ।

बुटवल धागो कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माका अनुसार ड्यु डिलिजेन्स अडिट टोलीले सुरुदेखि नै कारखानाको अवस्था अध्ययन गरिरहेको छ। उनका अनुसार टोलीबाहेक उद्योगी र केही भारतीय प्राविधिकले पनि पछिल्लो समय कारखानाको अवस्था बुझ्न भ्रमण गरिरहेका छन्। शर्माले सरकारले कारखाना सञ्चालनका लागि आन्तरिक तयारीस्वरूप प्रक्रिया अघि बढाएको बताए। सम्पत्ति तथा दायित्वको मूल्याङ्कन पूरा भएपछि कारखाना सञ्चालनको मोडालिटी तय हुने उनको भनाइ छ। नयाँ प्रविधिसहित आवश्यक उपकरण जडान गर्न सके उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना रहेको उनले बताए।

रोजगारीदेखि कपास खेतीसम्म प्रभाव

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले कारखाना सञ्चालनमा आए रोजगारी सिर्जना हुनुका साथै कपास खेती र कपडा उद्योगलाई समेत लाभ पुग्ने बताए। उनका अनुसार उद्योग पुनः सञ्चालन हुँदा बुटवलको औद्योगिक गतिविधि बढ्ने र पश्चिम नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्नेछ। बुटवलका उद्योगीहरूका अनुसार कारखाना सञ्चालनले प्रत्यक्ष रोजगारी मात्रै होइन, कपास उत्पादन, धागो प्रशोधन, कपडा उत्पादन, ढुवानी, व्यापार र अन्य सहायक व्यवसायमा समेत नयाँ अवसर सिर्जना गर्न सक्छ। त्यसैले कारखानालाई एउटा छुट्टै उद्योगका रूपमा नभई ठूलो औद्योगिक शृङ्खलाको आधारका रूपमा विकास गर्नुपर्ने उनीहरूको सुझाव छ।

दुई दशकदेखि बन्द

बुटवल औद्योगिक क्षेत्रमा १४४ रोपनी क्षेत्रफलमा फैलिएको बुटवल धागो कारखाना तत्कालीन राजा वीरेन्द्रको अवधारणाअनुसार देशलाई कपडा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको थियो। कारखानाको निर्माण २०३९ चैत ३ गते सुरु भएको थियो भने २०४८ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु भएको थियो। केही वर्ष सञ्चालनपछि व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप, कर्मचारी विवादलगायत समस्याले उद्योग कमजोर बन्दै गयो। अन्ततः २०६४ फागुनदेखि उत्पादन पूर्ण रूपमा बन्द भयो। २०६६ सालमा ४०२ कर्मचारीलाई सेवा–सुविधासहित बिदा गरिएपछि कारखाना औपचारिक रूपमा निष्क्रिय अवस्थामा पुगेको हो। हाल कारखानामा तीन कर्मचारी र दुई सुरक्षाकर्मी मात्र कार्यरत छन्। बुटवल औद्योगिक क्षेत्रको कुल भूभागको करिब एक तिहाइ क्षेत्र ओगटेको कारखाना लामो समयदेखि उत्पादनविहीन छ।

अब सरकारको मूल्याङ्कनपछि आउने प्रतिवेदनले कारखानाको भविष्य निर्धारण गर्नेछ। उद्योगीहरू भने यसपटक पनि अध्ययनमै सीमित नहोस् भन्ने पक्षमा छन्। उनीहरूका अनुसार आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन, राजनीतिक हस्तक्षेपमुक्त सञ्चालन, लगानीको स्पष्ट स्रोत र बजार सुनिश्चितता टुंगो लागे मात्रै बुटवल धागो कारखानालाई दीर्घकालीन रूपमा सफल बनाउन सकिन्छ। कारखाना पुनः सञ्चालनको सम्भावनाले स्थानीयमा उत्साह जगाए पनि अबको मुख्य चुनौती उत्साहलाई व्यवहारिक योजनामा बदल्नु हो। सरकारको आगामी निर्णयले दशकौंदेखि बन्द रहेको उद्योग फेरि उत्पादनको केन्द्र बन्छ कि फेरि अर्को अध्ययनको विषयमै सीमित हुन्छ भन्ने तय गर्नेछ।

1

Scroll to Top