Banijya News

पृथ्वीराजमार्ग बन्द भएपछि उपत्यकामा इन्धन आपूर्ति हेटौंडा मार्गबाट ल्याईने

1
1.0K Shares

धादिङको कृष्णभिर क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि राजधानीमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा तत्काल कुनै समस्या नआउने नेपाल आयल निगमले जनाएको छ। निगमले पाइपलाइन, वैकल्पिक सडक मार्ग र मौज्दात व्यवस्थापनका कारण काठमाडौं उपत्यकामा इन्धनको अभाव नहुने स्पष्ट पारेको हो।

अवरुद्ध सडकका कारण राजधानीमा पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको आपूर्तिमा असर पर्ने अनुमान गरिए पनि निगमले आपूर्ति प्रणालीलाई वैकल्पिक माध्यमबाट सञ्चालनमा ल्याएको जनाएको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार भारतबाट अमलेखगञ्ज डिपोसम्म आउने पेट्रोलियम पाइपलाइन नियमित रूपमा सञ्चालनमा छ र त्यहाँ पर्याप्त इन्धन भण्डारण गरिएको छ।

उनले अमलेखगञ्जबाट हेटौंडा हुँदै काठमाडौंसम्म साना तथा मध्यम क्षमताका ट्यांकरमार्फत इन्धन ढुवानी सुरु भइसकेको जानकारी दिए। “पाइपलाइनबाट इन्धन आइरहेको छ। वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौं पठाउने व्यवस्था मिलाइएको छ। आपूर्तिमा केही समय ढिलाइ हुन सक्छ, तर अभाव सिर्जना हुने अवस्था छैन,” उनले बताए।

निगमका अनुसार १२ किलो लिटर र २० किलो लिटर क्षमताका ट्यांकरहरूलाई प्राथमिकताका साथ परिचालन गरिएको छ। ठूला ट्यांकर सञ्चालन गर्न कठिन हुने स्थानमा साना क्षमताका सवारी प्रयोग गरेर आपूर्ति शृंखला कायम राख्ने रणनीति अपनाइएको छ। यसले राजधानीका पेट्रोल पम्पहरूमा नियमित आपूर्ति सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एलपी ग्यासको आपूर्तिमा पनि विशेष योजना बनाइएको छ। अधिकांश ग्यास उद्योग तराई क्षेत्रमा रहेकाले त्यहाँबाट सिलिन्डर लोड गरी हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग प्रयोग गरेर उपत्यकामा पठाउने व्यवस्था मिलाइएको निगमले जनाएको छ। ग्यास उद्योगहरूलाई पनि आवश्यक मौज्दात कायम राख्न निर्देशन दिइएको छ।

पछिल्ला केही वर्षयता नेपालले इन्धन आपूर्तिमा पूर्वाधार विस्तार गर्दै आएको छ। विशेषगरी भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि आपूर्ति प्रणाली थप भरपर्दो बनेको छ। यही पूर्वाधारका कारण प्राकृतिक विपद् वा सडक अवरोधका बेला पनि इन्धन आपूर्ति सहज बनाउन मद्दत पुगेको विज्ञहरू बताउँछन्।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा इन्धन सञ्चिति नगर्न आग्रह गरेको छ। सडक अवरोधको खबरपछि केही स्थानमा इन्धन भर्ने चाप बढ्न सक्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन सचेत रहन आग्रह गरिएको हो। निगमका अनुसार काठमाडौं उपत्यकाका डिपो तथा पेट्रोल पम्पहरूमा तत्काल आवश्यकताभन्दा बढी मौज्दात रहेको छ।

यता, सडक विभाग र स्थानीय प्रशासनले अवरुद्ध सडक मर्मत तथा वैकल्पिक यातायात व्यवस्थापनको काम तीव्र बनाएका छन्। सडक सञ्चालनमा आउन केही समय लाग्न सक्ने भए पनि अत्यावश्यक वस्तु र इन्धन ढुवानीलाई प्राथमिकता दिइएको छ।

केही दिनअघि परेको अविरल वर्षापछि रोकिएका अधिकांश इन्धन ट्यांकर शनिबार नै काठमाडौं भित्रिसकेकाले बजारमा तत्काल कुनै दबाब नपर्ने निगमको दाबी छ। निगमले परिस्थिति नजिकबाट अनुगमन गरिरहेको र आवश्यक परे थप वैकल्पिक मार्ग तथा अतिरिक्त ढुवानी साधन परिचालन गरिने जनाएको छ।

राजधानीको जनजीवनसँग प्रत्यक्ष जोडिएको इन्धन आपूर्ति प्रणालीलाई सुरक्षित राख्न सबै निकायबीच समन्वय भइरहेको भन्दै निगमले उपभोक्तालाई ढुक्क हुन आग्रह गरेको छ।

1

Scroll to Top