दसैँ–तिहार नजिकिँदै गर्दा चीनसँग जोडिएका उत्तरी व्यापारिक नाका सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाएको छ। चाडपर्वका लागि आवश्यक सामग्रीको आयात प्रभावित भएपछि सरकारले विशेषगरी तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चीनसमक्ष प्रस्ताव राखेको हो।
हाल तातोपानी, रसुवागढी र मुस्ताङको कोरला गरी नेपाल–चीन सीमाका तीन प्रमुख व्यापारिक मार्ग प्रभावित छन्। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोका कारण रसुवागढीतर्फका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। पछिल्लो वर्षाका कारण कोरला क्षेत्रका सडकमा समेत विभिन्न स्थानमा अवरोध सिर्जना भएको छ।
यसैबीच परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा नेपाली अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले तातोपानी नाकातर्फ जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणपछि नेपाली अधिकारीहरूले अन्य उत्तरी मार्गको तुलनामा तातोपानी हुँदै व्यापारिक आवागमन पुनः सञ्चालन गर्न प्राविधिक रूपमा सहज हुने निष्कर्ष निकालेका छन्।
नेपालको प्राथमिकता पनि चाडपर्वअघि तातोपानी नाका सञ्चालनमा ल्याउनेतर्फ केन्द्रित भएको छ। ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार तातोपानी अहिले तुलनात्मक रूपमा व्यवहारिक विकल्प देखिएकाले नाका पुनः सञ्चालनका लागि कूटनीतिक पहललाई तीव्रता दिइएको छ।
यता चिनियाँ पक्षले भने तातोपानीसँगै मुस्ताङस्थित कोरला नाकाको सडक अवस्थाबारे पनि स्थलगत जानकारी लिन चाहेको छ। त्यसका लागि परराष्ट्र, अर्थ तथा पूर्वाधारसम्बन्धी मन्त्रालयका प्रतिनिधिसहित चिनियाँ अधिकारीले मुस्ताङ पुगेर सडक तथा नाकाको अवस्थाबारे निरीक्षण गर्ने तयारी भइरहेको छ।
नेपालले भने कोरला क्षेत्रमा मौसम तथा भौगोलिक अवस्थाका कारण वर्षभरि नियमित व्यापार सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै तत्कालीन चाडपर्वको आवश्यकता पूरा गर्न तातोपानीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेको छ।
उत्तरी नाका अवरुद्ध हुँदा चीनबाट हुने आयातमा प्रत्यक्ष असर परेको छ। दसैँका लागि व्यवसायीले खरिद तथा बुकिङ गरेका लत्ताकपडा, जुत्ता, विद्युतीय उपकरण, सजावटका सामग्री तथा अन्य उपभोग्य वस्तु चीनमै रोकिएका छन्। चीनबाट आयात हुने विद्युतीय सवारीसाधनको ढुवानीसमेत प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।
चाडपर्वको समयमा बजारमा वस्तुको माग र खपत बढ्ने भएकाले नाका लामो समय बन्द रहँदा आपूर्ति प्रणालीमा दबाब पर्नुका साथै ढुवानी लागत बढ्ने चिन्ता निजी क्षेत्रको छ।
नेपाल उद्योग वाणिज्य महासंघले पनि चिनियाँ राजदूतसँग भेट गरी तातोपानी नाका तत्काल सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक सहजीकरण गर्न आग्रह गरेको छ।
सरकार र निजी क्षेत्र दुवैले उत्तरी व्यापारिक मार्ग खुलाउन दबाब बढाएसँगै अब दसैँअघि तातोपानी नाका सञ्चालनमा आउँछ वा कोरला विकल्पले प्राथमिकता पाउँछ भन्ने विषय चासोको बनेको छ।

