माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल प्रविधि तथा जोखिम व्यवस्थापनमा गरेको उत्कृष्ट कार्यसम्पादनका लागि एकैपटक दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ अवार्ड प्राप्त गरेको छ। बैंकले डिजिटल नवप्रवर्तनतर्फ ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत प्लाटिनम अवार्ड तथा जोखिम व्यवस्थापनतर्फ ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ अवार्ड हात पारेको हो।
ग्राहकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि माछापुच्छ्रे बैंकलाई ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्रदान गरिएको हो। बैंकका अनुसार ग्राहकले खाता खोल्नेदेखि विभिन्न बैंकिङ सेवा प्राप्त गर्ने प्रक्रियालाई सरल, सहज र छरितो बनाउने उद्देश्यले उक्त पहल अघि बढाइएको थियो।
इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ क्षेत्रमा प्रविधि, डिजिटल रूपान्तरण र नवप्रवर्तनमार्फत उल्लेखनीय काम गर्ने वित्तीय संस्थालाई प्रदान गरिन्छ। सन् २०२६ का लागि विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेकोमा माछापुच्छ्रे बैंकले प्रतिस्पर्धाबाट प्लाटिनम अवार्ड हासिल गरेको हो।
बैंकले जोखिम व्यवस्थापनको क्षेत्रमा पनि अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको छ। इन्डियन च्याम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको ‘फोर्थ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा माछापुच्छ्रे बैंकलाई ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ अवार्ड प्रदान गरिएको हो।

कर्जा, सञ्चालन, बजार तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले अपनाएको सक्रिय र व्यवस्थित अभ्यासलाई मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ। सुरक्षित, जिम्मेवार र दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै जोखिम पहिचान तथा न्यूनीकरणमा बैंकले गरेको कामलाई अवार्डका लागि महत्वपूर्ण आधार मानिएको छ।
एकैपटक प्राप्त दुई अन्तर्राष्ट्रिय सम्मानले माछापुच्छ्रे बैंकको प्राथमिकतामा डिजिटल रूपान्तरणसँगै जोखिम व्यवस्थापन पनि समान रूपमा रहेको देखाएको छ। पछिल्ला वर्षमा बैंकले डिजिटल बैंकिङ सेवा विस्तार, ग्राहक अनुभव सुधार, प्रविधिको प्रयोग तथा आन्तरिक जोखिम व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउँदै आएको जनाएको छ।
माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकका अनुसार सन् २०२३ मा इन्फोसिस फिनाकल इनोभेसन अवार्डअन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको थियो। त्यसैगरी सन् २०२४ मा भिसा लिडरशिप कन्क्लेभअन्तर्गत ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस’ अवार्ड पाएको थियो।
सन् २०२५ मा पनि बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्डअन्तर्गत सम्मान प्राप्त गरेको थियो। त्यस्तै, इन्डियन च्याम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२५’ मा बैंकले ‘राइजिङ स्टार इन एसेट क्वालिटी’ अवार्ड प्राप्त गरेको थियो।

