तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रन लागेका दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। आजको खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले उपाधि यात्रालाई निरन्तरता दिने अर्को अवसर पाउनेछ।
पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यसैले आजको खेल दुवै टोलीका लागि फाइनल पुग्ने पहिलो र महत्वपूर्ण अवसर बनेको छ।
लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले पनि सात खेलमा पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थान सुरक्षित गरेको थियो।
गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए। उक्त खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। यस संस्करणको उद्घाटन खेलमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। त्यसैले लुम्बिनी आज पनि आफ्नो पछिल्लो सफलतालाई निरन्तरता दिने योजनामा हुनेछ।
लुम्बिनीका लागि ब्याटिङमा डार्सी सर्ट र सन्दीप जोराको प्रदर्शन महत्वपूर्ण हुन सक्छ। त्यस्तै, बलिङमा शेर मल्ल र रुबेन ट्रम्पलम्यानको भूमिका निर्णायक बन्न सक्नेछ। लिग चरणमा डार्सीले १४८ रन बनाएका छन् भने शेर मल्लले ९ विकेट लिएका छन्।
अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी टोलीका मुख्य खेलाडी हुन्। उनले लिग चरणमा १५० रन बनाएका छन्। बलिङतर्फ १० विकेट लिएका अनिल खरेल सुदूरपश्चिमका प्रभावशाली खेलाडीका रूपमा रहेका छन्।
दीपेन्द्रको कप्तानीमा रहेको सुदूरपश्चिम पछिल्लो दुई हारको बदला लिँदै तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा छ। टोलीले लिग चरणका पछिल्ला चार खेल लगातार जित्दै आफ्नो लयसमेत सुधार गरेको छ।
सुदूरपश्चिम यसअघि लगातार दुई संस्करणमा फाइनल पुगेको थियो। तर दुवैपटक उपाधि जित्न असफल भएको टोली यसपटक भने पहिलो क्वालिफायर जित्दै उपाधि जित्ने यात्रामा एक कदम अघि बढ्न चाहन्छ।



