आगजनीका कारण बन्द रहेको झापाको दमकस्थित भाटभटेनी सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक व्यवस्थापन पूरा गरेपछि कम्पनीले मंसिर ५ गतेदेखि नियमित सेवा सुरु गर्न लागेको हो।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दमकस्थित स्टोर शनिबारदेखि ग्राहकका लागि खुला गरिने जानकारी दिएका छन्। आगलागीबाट ठूलो क्षति पुगेपछि बन्द रहेको स्टोरलाई पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउन लागिएको उनले बताए।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार आगजनीका कारण कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि कर्मचारीहरूको रोजगारीलाई निरन्तरता दिइएको छ। उनका अनुसार कम्पनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा कुनै असर पर्न दिइएको छैन।
आगलागीबाट पूर्ण रूपमा क्षति भएका स्टोरहरूको पुनर्निर्माणलाई तीव्रता दिँदै ग्राहकलाई पुनः सेवा प्रदान गर्ने काम भइरहेको गुरुङले बताएका छन्। त्यसका लागि कम्पनीले चौबीसै घण्टा काम गरेर क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आवश्यक व्यवस्थापन गरेको उनको भनाइ छ।
पुनः सञ्चालनमा आउन लागेको दमक स्टोरबाट ग्राहकलाई आधुनिक सुविधा, गुणस्तरीय सामग्री तथा सहज सेवा उपलब्ध गराउने कम्पनीले प्रतिबद्धता जनाएको छ। स्टोर सञ्चालनमा आएसँगै दमक तथा आसपासका क्षेत्रका उपभोक्ताले पुनः भाटभटेनीको सेवा लिन पाउने भएका छन्।
कम्पनीले पुनर्निर्माण तथा पुनः सञ्चालनको प्रक्रियामा सहयोग पुर्याउने कर्मचारी, शुभेच्छुक र ग्राहकप्रति धन्यवादसमेत व्यक्त गरेको छ। कठिन परिस्थितिमा साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दै कम्पनीले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको जनाएको छ।


