Banijya News

तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान आउने

1
1.1K Shares

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट अब सबै व्यापारिक सामान आउने भएको छ । सरकारले सो नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यवस्तु भित्र्याउने निर्णय गरेको थियो । तर नाकाबाट अत्यावश्यक मेडिकल सामग्री भन्दा अन्य सामान ल्याएको र त्यसबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै स्थानीय जनप्रतिनिधिलगायत स्थानीयले विरोध गरेपछि नाकामा कडाई गरेको थियो ।


बुधबार व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र भन्सारबीच भएको छलफलमा नाकाबाट सबै व्यापारिक सामान समेत ल्याउने सहमति भएको हो । उनीहरुले चामल, दाल, नून र मेडिकल सामग्री ल्याउन दिने तर स्याउ, लसुन जस्ता सामान ल्याउन नदिने भन्दै विरोध गरेका थिए ।

चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको उनीहरुको तर्क छ । भन्सार र स्थानीय जनप्रतिनिधिबीच तीव्र विवाद भएपछि भन्सारले सबैसँग बुधबार छलफल गरेको थियो ।भन्सार प्रमुख लाल बहादुर खत्रीले सामान आयात गर्न दिने तर त्यसको लागि सुरक्षा पहिलो सर्त छ भनेर सबैले भन्नुभयो त्यसका लागि सबै सुरक्षा रणनिति अपनाउन भन्सार तयार छ भनेपछि सामान ल्याउन दिनेमा सबै एकमत भएको जानकारी दिए ।

भन्सार कार्यालय र भोटेकोशी गाउँपालिकाले सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् । अत्यावश्यक सामानको आयात गर्ने भन्दै तातोपानी नाका खोल्ने सरकारको निर्णय पछि चैत २६ देखि तातोपानी नाका सञ्चालनमा छ । भूकम्प पछि तातोपानी नाका तीनवर्ष देखि बन्द रहेको थियो ।

1

Scroll to Top