Banijya News

नेपालले पाउने वैदेशिक सहायता निरन्तर ओरालो

1
1.2K Shares

पछिल्लो समय नेपालले पाउने वैदेशिक सहायता निरन्तर घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेपनि जम्मा २३ अर्ब ५३ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । यो लक्ष्यको ३२.६२ प्रतिशत मात्र हो ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान लिने लक्ष्य राखेको थियो । सो वर्षमा २४ अर्ब रुपैयाँ अनुदान प्राप्त भएको थियो, जुन लक्ष्यको तुलनामा ४९.०८ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा गत वर्ष अनुदान प्राप्ति २.०४ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ ।

यस्तै, ऋण प्राप्ति पनि घटेको देखिन्छ । आ.व. २०८१/८२ मा २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखिएकोमा १ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ मात्र ऋण लिन सकिएको हो । यो लक्ष्यको ५७.७८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब १२ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखिएकोमा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ ऋण प्राप्त भएको थियो, जुन लक्ष्यको ५९.०७ प्रतिशत हो । यसरी तुलना गर्दा वैदेशिक ऋण प्राप्ति गत वर्ष ०.२१ प्रतिशतले घटेको देखिन्छ ।

कुल वैदेशिक सहायता हेर्दा पनि गिरावट आएको छ । २०८१/८२ मा सरकारले २ खर्ब ६९ अर्ब रुपैयाँ वैदेशिक सहायता लिने लक्ष्य राखेकोमा १ खर्ब ४८ अर्ब रुपैयाँ मात्र प्राप्त भएको छ । यो लक्ष्यको ५५.१५ प्रतिशत हो । अघिल्लो आव २०८०/८१ मा सरकारले २ खर्ब ६२ अर्ब रुपैयाँ लक्ष्य राखेकोमा १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ प्राप्त भएको थियो, जुन लक्ष्यको ५६.९८ प्रतिशत थियो ।

1

Scroll to Top