Banijya News

निर्देशित क्षेत्रमा बैंकको कर्जा साढे १६ खर्ब, कृषि क्षेत्रमा मात्रै १४ प्रतिशत लगानी

1
1.2K Shares

नेपालका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल कर्जाको ३३.५ प्रतिशत मात्र निर्देशित क्षेत्रमा लगानी गरेका छन्। केन्द्रीय बैंकको निर्देशिका अनुसार कृषिसहित उर्जा, साना तथा मझौला उद्योग (एमएसएमई)जस्ता क्षेत्रमा न्यूनतम कर्जा लगानी अनिवार्य गरिए पनि अधिकांश बैंकले अझै तोकिएको सीमा पुरा गर्न सकेका छैनन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म बैंकहरूले कुल ४९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये निर्देशित क्षेत्रतर्फको कर्जा साढे १६ खर्ब अर्थात् १६ खर्ब ४५ अर्ब रुपैयाँ मात्र पुगेको छ।

बैंकहरूले कृषिमा कुल कर्जाको न्यूनतम १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ, जुन २०८४ असार मसान्तसम्म १५ प्रतिशत पुर्‍याउनुपर्नेछ। तर चालु आर्थिक वर्षको चैतसम्म कृषिमा लगानी १३.७८ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ।

ऊर्जा क्षेत्रमा कुल कर्जाको ७ प्रतिशत लगानी गर्नुपर्नेछ, जुन २०८४ असारभित्र १० प्रतिशतमा विस्तार गरिनुपर्ने हो। तर हालसम्म बैंकहरूले औसतमा ८.८० प्रतिशत मात्र लगानी गरेका छन्।

लघु, घरेलु, साना तथा मझौला उद्योगमा पनि बैंकहरूले १५ प्रतिशत लगानी पुर्‍याउनुपर्ने प्रावधान छ। हालसम्म १०.९२ प्रतिशत लगानी मात्र भएको देखिएको छ।

निर्देशित क्षेत्रमा कर्जा लगानी न्यून भएमा केन्द्रीय बैंकले हर्जाना लगाउने प्रावधान पनि स्पष्ट पारेको छ। समयमै लक्ष्य नपुगेमा नपुग रकममा अधिकतम ब्याजदर अनुसार हर्जाना गणना हुने जनाइएको छ।

विकास बैंकहरूले कुल कर्जाको २० प्रतिशत र फाइनान्स कम्पनीहरूले १५ प्रतिशत रकम निर्देशनअनुसार कृषि, ऊर्जा वा एमएसएमई क्षेत्रमा लगानी गर्नुपर्नेछ। तर, अधिकांशले अझै लक्ष्य भेटेका छैनन्।

1

Scroll to Top