Banijya News

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउँदै सरकार

1
1.1K Shares

सरकारले नेपालको विद्युत् प्रणालीमा निजी क्षेत्रको सहभागीता सुनिश्चित गर्ने तयारी थालेको छ। विद्युत् नियमन आयोगले बुधबार ‘खुला पहुँच निर्देशिका, २०२५’ को मस्यौदा सार्वजनिक गर्दै निजी क्षेत्रका लागि बिजुली व्यापारको ढोका खोल्ने संकेत दिएको हो।

आयोगले सरोकारवालाहरूको राय सुझाव संकलन गरी निर्देशिकालाई अन्तिम रूप दिने जनाएको छ। सुझाव दिनका लागि ३० दिनको समय सीमा तोकिएको छ। आयोगका अनुसार उक्त निर्देशिकाको उद्देश्य प्रणालीमा समावेश सबै पक्षले विभेदरहित रूपमा विद्युत् प्रसारण तथा वितरण पूर्वाधार प्रयोग गरेर व्यापार गर्न सक्ने व्यवस्था सुनिश्चित गर्नु हो।

खुला पहुँचको अवधारणाअनुसार अब विद्युत् उत्पादन गर्ने कम्पनी, विद्युत् व्यापारमा संलग्न निजी कम्पनी, तथा ठूला औद्योगिक उपभोक्ताहरूले प्रसारण तथा वितरण संरचना स्वामित्वमा नराखेका भए पनि ती संरचनाको प्रयोग गरेर व्यवसायिक रूपमा बिजुली किनबेच गर्न सक्नेछन्।

हालसम्म उपभोक्ताले नेपाल विद्युत् प्राधिकरणमार्फत तोकिएको दरमा बिजुली लिने प्रचलन छ। तर, खुला पहुँच लागू भएमा ठूला उपभोक्ताहरूले निजी विद्युत् उत्पादकहरूसँग सिधै सहमतिमा आधारित दरमा बिजुली खरिद गर्न सक्नेछन्। खरिद गरिएको बिजुली सम्बन्धित प्रसारण लाइनमार्फत आपूर्ति गरिनेछ। उक्त प्रयोगका लागि प्रसारण शुल्क, व्हिलिङ शुल्क, डेभियेसन शुल्कजस्ता शुल्क तिर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार खुला पहुँचको प्रणालीले विद्युत् क्षेत्रमा थप लगानी भित्र्याउने, प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने, सेवा प्रदायक संस्थाको जोखिम न्यूनीकरण गर्ने र अन्तर्राष्ट्रिय बजारमा निजी क्षेत्रमार्फत विद्युत् निर्यातको बाटो खुला गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, विद्युत्को थोक बजार निर्माणमा सहयोग पुग्ने, प्रसारण संरचना विकासमा निजी क्षेत्रको भूमिका बढ्ने, तथा दीर्घकालीन ऊर्जा सुरक्षाका लागि खुला पहुँच प्रभावकारी हुने आयोगको विश्वास छ।

निर्देशिका मस्यौदामा अन्तर्देशीय विद्युत् व्यापारका लागि न्यूनतम १० मेगावाट विद्युत् कारोबार हुने प्रस्ताव गरिएको छ। साथै, विद्युत् निर्यातको हक नेपाल विद्युत् प्राधिकरण वा नेपाल सरकारबाट अनुमति प्राप्त आयोजनामार्फत मात्र सम्भव हुने र आन्तरिक मागभन्दा बढी उत्पादन भएको अवस्थामा मात्र निर्यात गर्न पाइने प्रावधान प्रस्ताव गरिएको छ।

1

Scroll to Top