Banijya News

ललितपुर महानगरद्वारा एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

1
1.1K Shares

ललितपुर महानगरपालिकाले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरेको छ । महानगरले हिजो स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत एक करोड रुपैयाँ भुक्तानीसमेत गरेको जनाएको छ ।

समझदारीपत्रमा महानगरका मेयर चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, गाडी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक ९टीएचपी० को स्वास्थ्य बीमाबापतको शतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ ।

महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि देखि शुरू गरेको थियो । महानगरका मेयर चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए । उनले स्वास्थ्य बीमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र दुई सय १० जनाको क्षमता भएको ठाउँमा तीन सयभन्दा धेरैले दैनिक सेवा लिन आउने गरेका जानकारी दिए।

यस्तै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए। पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बीमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।

1

Scroll to Top