Banijya News

जात्रा

1
1.1K Shares

अच्युत घिमिरे –
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा, यो उखानजस्तै अहिलेको राजनैतिक तमासाले धेरैलाई हसाएको छ । सत्तारुढ दलभित्रको यो रमिता संसारलाई देखाएर नेताहरुले के गर्न खोजेका होलान् ? मान्छेहरु कोरना भाइरसको कारण प्रत्येक क्षण डर बोकेर हिडिरहेका छन् । भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । परीक्षणको दायरा बढाएर उल्लेख्य उपलब्धि हासिल गर्नुपर्ने हो तर त्यसो हुन सकेको छैन ।

जनता रोइरहेको यो बेला नेताहरु सत्ताको लागि लडाइ गरिरहेका छन् । मान्छेलाई लाज भएन भने जे पनि गर्दा रहेछन् । कतिसम्म गर्न सकेको । यो देशमा सबै हुनेखाने मान्छे छैनन् । हुनेखानेले प्रशस्त सम्पत्ति जम्मा पारेका हुन्छन् । तिनलाई लकडाउनले छुँदै छुँदैन । कमाएर खाने वर्गहरुको यसवेला हरिविजोग भएको छ । असंगठित क्षेत्रका रोजगारदाताहरुको रोजगार गुमेको छ । यस्तोसम्म दृश्य देखिन थालेको छ । केही मान्छे खान नपाएर घरघर माग्न हिड्न थालेका छन् । नयाँ मान्छे देख्दा घरवालाहरु तिनको छेउमै जान डराउँछन् । नहुनेले के दिनु । हुनेहरु हजारौँमा १ ,२ जना दानवीर हुने हुन् ।

माग्नेहरु निरास भएर फर्कन्छन् । साह्रै निम्नस्तरका मान्छेहरु यसबेला खान नपाएर मर्न थालेका छन् । यस्तो भयावह स्थिति छ देशमा । यसले अलिकति पनि नछुने कति निर्दयी हाम्रा देशका नेताहरु । हामीले भोगेको समयमध्ये आर्थिक सड.्कटले मान्छेलाई पिरोलेको यो सबैभन्दा कहालिलाग्दो समय हो । यस्तो वेलामा राजनैतिक वृत्तमा देखिएको यो तमासा के हो ? तमासा देखाउने पनि बेला हुन्छ नि । भुँइ बिर्सेपछि मान्छेले जे पनि गर्दो रहेछ ।

हामी जनताले मत नदिने, साथ नदिने हो भने यी नेताहरु तमासा गर्न लायक ठाउँमा पुग्ने थिएनन् । करोडौँ जनताले साथ दिएर मुठ्ठीभरका मान्छे रजाइँ गर्दैछन् । बहुसंख्यक जनतालाई त कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ । यिनलाई सिढी बनाएर राजनैतिक नेता र तिनका आसेपासे सुखसयलको जीवन बाँच्छन्, सामान्य जनताको जीवन सधैँ दुखकै छ । यसो भएर पनि यी जनताहरु नेताहरु झगडा नगरुन्, पार्टी नफुटाउन्, राजनैतिक अस्थिरता नल्याउन् भन्ने चाहन्छन् । देशका लागि कति ठूलो चिन्ता यिनीहरुलाई । न यिनीहरुलाई कुनै पद चाहिन्छ, न मान मर्यादा घट्छ भन्ने चिन्ता छ । यी नेता यिनीहरु जस्ता निर्लोभी र त्यागी किन हुन सक्दैनन् ।

सबै किसिमको भूबनोट भएको हाम्रो देश प्राकृतिक, सांस्कृतिक, अनेक कोणबाट धनी छ । जडीबुटी, जलस्रोतको भण्डार उर्वर कृषिभूमि, यी सबै भएर पनि देश किन गरीव छ ? सरकारले जडीबुटी प्रशोधन गरेर औषधीका रुपमा विदेश निर्यात गर्न सके मात्र नेपाल विश्वमा धनी मुलुक बन्छ । विद्युत उत्पादन गर्नु, सिचाइको व्यवस्था गरी कृषिमा आधुनिकिकरण गर्नुृृ, पर्यटनको विकास गर्नु, यी पनि हुने हुन् भने देश कस्तो बन्ला कल्पना गरौँ त । अरुको देश विकसित बनाउन वैदेशिक रोजगारमा युवालाई पठाउनुको सट्टा अनेक सम्भावनाको खोजी गरी आफ्नै देशमा आफ्ना
नागरिकलाई काममा लगाउन सरकारले किन सक्दैन ? विकसित देशसँग मागेर मुठ्ठीभर मान्छेहरुले मोजमस्तीको जीवन बाँच्नुपर्छ भन्ने चेतना बोकुन्जेल यो देश सधैँ गरिव नै हुन्छ ।


नेताले देखाउने जात्रा सधैँको जात्रा हो । पद, पैसा र शक्तिको लागि कुरा मिलुन्जेल यी चुपचाप लाग्छन्, नमिलेपछि फेरि जात्रा देखाउन थालिहाल्छन् । नेता मात्र के तिनका चम्चाहरु, राष्ट्रसेवक कर्मचारीहरु, व्यपारीहरु सबैले जात्रा देखाउँछन् । जात्रा देखाउनेहरुलाई कुनै दुःख, समवेदनाले छुँदैन । जात्रा देखाउनेहरु दिनप्रतिदिन आर्थिक हैसियत बढाइरहेका छन् । सुख र मस्तीको जीवन बाँचिरहेका छन् । जात्रा नदेखाउनेहरु सधैँ दुःख, अभाव र तनावको जीवन बाँचिरहेका छन् । जाँतालाई भन्दा हातालाई सकसक भनेझैँ विचरा यिनीहरु न नितिनिर्माण तहमा छन्, न कसैले यिनका आवाज सुन्छ । देशको चिन्ता भने यिनीहरुलाई नै छ ।

जात्रा शक्ति हुनेहरुले नै देखाउने हो रहेछ । कति सतही भएको आजको मान्छे । कति जनाको पुच्छर पकडेर राष्ट्रिय स्तरको पत्रिकामा साहित्य संयोजक बनेको पत्रकार साहित्यमा प्रबेश गरेको पाँच वर्ष भएको छैन, यो शताब्दीकै महान साहित्यकार भनिदिन्छ बिचरालाई । यो एउटा उदाहरण मात्र हो । हरेक क्षेत्रमा सतही मान्छेहरुको बोलवाला छ । अधकल्चो ज्ञान भएका तिनीहरुले देखाएको जात्राले मुलुक उठ्नै नसकिने गरी थलिएको छ ।

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । महिनौँ कोठामा थुनिएर कुँजिएका हातखुट्टा कसरी तन्काउने होला अब । मेलो समात्न नसकेको चिन्ता एकातिर छ । गुमेको रोजगार फर्कला नफर्कला त्यो चिन्ता पनि छँदै छ । सामान्य जीवनस्तर हुनेहरु ढुक्कले बाँच्न नसकिरहेको यो वेला महिनौँ भयो नेताहरु जात्रा देखाइरहेका छन् । थाहा छैन, उनीहरुको यो खेल कहिले अन्त्य होला ? नेताहरु नै सामान्य नभैकन जनता पो कसरी सामान्य अवस्थामा फर्केलान् ।

यो जात्रै जात्राको देश हो । सबै जात्राहरुले गएर ठोक्किने राजनैतिक जात्रामा हो । यो राजनैतिक जात्राको अन्त्य नभइञ्जेलसम्म यो मुलुक सधैँ गरिव नै हुने हो । सोझा, इमानदारहरुले गरिवीकै दुष्चक्रमा जीवन बिताउने हो ।

1

Scroll to Top