Banijya News

२१ अर्ब लागतमा विद्युत प्रसारण लाइन निर्माणका लागि दुई ठेक्का सम्झौता

1
1.4K Shares

संयुक्त राज्य अमेरिकाको आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत प्रसारण आयोजना अघि बढाउन दुई महत्वपूर्ण ठेक्का सम्झौता भएका छन्।एमसिसीको स्थानीय कार्यान्वयन निकाय मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए नेपाल) ले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामार्फत दुई कम्पनीसँग सम्झौता गरेको हो।रातमाटे–नयाँ दमौली प्रसारण लाइन निर्माणका लागि एञ्जेलिक स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि वाइबा सलासर संयुक्त उपक्रमसँग सम्झौता भएको छ।यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ। कुल लागत १५ करोड ४५ लाख अमेरिकी डलर (लगभग २१ अर्ब ६३ करोड रुपैयाँ) रहेको छ।

ठेक्का अवधि ४२ महिना तोकिएको छ, र दुवै कम्पनीले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्याय, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरू, एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गल, र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थिति थियो।एमसिसीका कार्यवाहक उपाध्यक्ष विङ्गलले यी सम्झौताहरूले नेपालको विकास लक्ष्यमा अमेरिकाको निरन्तर सहयोगलाई पुष्टि गर्ने बताए। अर्थसचिव उपाध्यायले नेपाल सरकारको प्रसारण लाइन निर्माण योजनामा अमेरिकी सहयोग महत्त्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन साझेदारीका लागि प्रतिबद्धता व्यक्त गरे।

नेपालस्थित अमेरिकी दूतावासका नियोग उप प्रमुख जेसन मीक्सले यो सम्झौतालाई अमेरिकाको नेपालप्रतिको स्थायी प्रतिबद्धताको प्रतीक भन्दै, यसले पूर्वाधार मात्र नभई नेपालको दीर्घकालीन विकासलाई पनि गति दिने बताए। एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले कम्प्याक्ट कार्यान्वयनमा अमेरिकी सरकारको निरन्तर सहयोग र सबै सरोकारवालाको साझा प्रतिबद्धताको प्रशंसा गरे।एमसिसी नेपाल कम्प्याक्टको ६९ करोड ७० लाख अमेरिकी डलरको ऐतिहासिक लगानीले विद्युत प्रसारण र सडक मर्मत आयोजना मार्फत नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ। यसअन्तर्गत निर्माण हुने प्रसारण लाइनले आन्तरिक आपूर्ति सुधारसँगै क्षेत्रीय विद्युत व्यापार विस्तारमा ठूलो योगदान पुर्‍याउनेछ।

1

Scroll to Top