Banijya News

मौद्रिक नीतिले लगानीको वातावरण बनाउने महासंघको दाबी

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक, सन्तुलित र निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ। महासंघका अनुसार मूल्य स्थायित्व, वित्तीय क्षेत्रको सुदृढीकरण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयासले लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका व्यक्तिगत जमानीसम्बन्धी व्यवस्था, रुग्ण उद्योगको निस्क्रिय कर्जा व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, संस्थागत क्षमताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण तथा सार्वजनिक यातायातका विद्युतीय सवारीका लागि कर्जा–धितो अनुपात सहज बनाउने व्यवस्था सकारात्मक रहेको बताए।

महासंघले नीतिगत दर, नगद मौज्दात अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत् राख्ने निर्णयले लगानीकर्तामा विश्वास बढाउने उल्लेख गरेको छ। साथै बैंकिङ क्षेत्रको डिजिटलाइजेसन, नियामकीय व्यवस्था सरलीकरण र विदेशी विनिमयसम्बन्धी सहज व्यवस्थाले व्यापार तथा लगानीलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यद्यपि साना, मझौला र ठूला उद्योगको कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणसम्बन्धी व्यवस्था स्पष्ट हुनुपर्नेमा महासंघले जोड दिएको छ। साथै मौद्रिक नीतिको सफलता प्रभावकारी कार्यान्वयनमा निर्भर रहने उल्लेख गर्दै उत्पादनशील क्षेत्रमा सहज कर्जा प्रवाह, वित्तीय क्षेत्र सुधार २.०, बैंकहरूको पुनःपूँजीकरण र जोखिम साझेदारी संयन्त्र विस्तार गर्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेको छ।

1

Scroll to Top