काठमाडौंमा नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालमा आयातित वस्तुहरू बहु–तहका आपूर्ति शृंखला (मध्यस्थकर्ता) मार्फत उपभोक्तासम्म पुग्दा मूल्य अभिवृद्धि हुने र आपूर्तिमा अनिश्चितता रहने समस्यालाई समाधान गर्ने लक्ष्यसहित यो प्लेटफर्म सुरु गरिएको हो।
‘एन्जोय योर सपिङ’ नाराका साथ आएको यस प्लेटफर्मले बिचौलिया बिना नै ग्राहकलाई सहज, सुलभ र पारदर्शी मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठका अनुसार कम्पनीले चीनका उत्पादकहरूबाट सोझै सामान खरिद गरी आफ्नै ढुवानी सञ्जाल, भण्डारण (गोदाम) र वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्याउनेछ। स्रोत व्यवस्थापनदेखि अन्तिम डेलिभरीसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापनभित्र रहने भएकाले डेलिभरी समय छोटो हुनुका साथै वस्तुको मूल्य प्रतिस्पर्धी र पारदर्शी हुने दाबी गरिएको छ।
प्रारम्भिक चरणमा यस ई-कमर्स प्लेटफर्ममा विद्युतीय सामग्री, फेसन, लाइफस्टाइल तथा स्वास्थ्य एवं सौन्दर्य सम्बन्धी वस्तुहरू उपलब्ध गराइएको छ। आगामी दिनमा ग्राहकको आवश्यकता अनुसार उत्पादनको दायरा बढाउँदै लैजाने योजना कम्पनीको छ। नेपालको निरन्तर विस्तार भइरहेको डिजिटल अर्थतन्त्रमा चाइनाबजारले छिट्टै ग्राहकहरूको मन जित्ने विश्वास सीइओ श्रेष्ठले व्यक्त गरेकी छन्।
अनलाइन सेवाका साथै चाइनाबजारले ग्राहकलाई प्रत्यक्ष सामान हेरेर खरिद गर्ने अनुभव दिन पहिलो ‘एक्सपेरियन्स स्टोर’ काठमाडौंको गुण कम्प्लेक्समा सञ्चालनमा ल्याएको छ। आगामी दिनमा यसलाई देशैभर विस्तार गर्ने लक्ष्य राखिएको छ, जसअन्तर्गत पहिलो चरणमा वीरगन्ज र भैरहवामा नयाँ आउटलेटहरू खोलिनेछ। ग्राहकले सहजताका लागि इसेवा र खल्तीजस्ता डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।


