नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो ।
बिहीबार पाँच महिनापछिकै उच्च मूल्यको सेयर खरिदबिक्री भएको छ । बिहीबार १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यसअघि, ०८१ फागुन १९ गते १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो । आज तीन करोड ८५ लाख ३४ हजार ३५० कित्ता सेयर खरिदबिक्री भएको छ । यो एक लाख ४१ हजार ४३४ पटकको कारोबार हो ।
सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशत बढे ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो ।


