हिमालयन बैंकले निष्कासन गरेको एफपीओ भोलि (साउन १३ ) गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे एफपीओ बाँडफाँड हुने भएको हो ।
बैंकको एफपीओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुनेछ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपीओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । जसमार्फत ६ अर्ब ४३ करोड ६७ लाख ८६ हजार ४८० रुपैयाँ संकलन भएको छ ।
कम्पनीको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको हो । धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।
बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले सेयर पूँजी वृद्धि गरी पूँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ।


