काठमाडौंः उपत्यका बाहिरका जिल्लाबाट विभिन्न नाका भएर बुधबार काठमाडौं आउन लागेका ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको जनाएको छ । त्यस्तै ७२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो । सरकारले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गर्नुका साथै काठमाडौं उपत्यका प्रवेश गर्न उपत्यकाको सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित जिल्लाको स्थानीय तह र प्रहरीको स्वीकृति अनिवार्य बनाएको छ । लकडाउन खुकुलो भएपनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन ।
मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ ।
यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी साधनलाई फिर्ता पठाएको हो ।


