नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै एक वर्षे अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल मार्फत निष्कासन गर्न लागिएको जनाएको हो ।
सूचनाअनुसार बोलकबोल आज असार १७ गते दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ भने ऋणपत्रको निष्कासन पनि यही दिन गरिनेछ । ऋणपत्रको परिपक्व अवधि २०८४ असार १७ गते तोकिएको छ। यसमा प्राप्त हुने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोडदेखि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोडकै गुणकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ । उक्त ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले खरिद गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गरी आवेदन दिनुपर्नेछ।


