सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा अम्पायरिङ विवाद चर्किएको छ। लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलमा अम्पायरहरूले गरेको निर्णयलाई लिएर खेलाडी तथा समर्थकहरू असन्तुष्ट देखिएका छन्। लगातार, टिभी रिभ्यूमै स्पष्ट देखिने गल्तीमा बाहिर आएको अम्पाएरको निर्णयले अम्पायरहरू ‘फिक्सिङमा संलग्न भएको आशंका’ उप्जाएको छ ।
लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेपछि पोस्ट–म्याच अन्तरक्रियामा चितवनका खेलाडीहरूले अम्पायरहरूका निर्णयप्रति कडा असन्तुष्टि जनाए ।
विशेषगरी १४औँ ओभरको विवादास्पद स्टम्पिङ—जहाँ चितवनको अपिल र बलको स्थिति प्रष्ट देखिएकै अवस्थामा पनि टेलिभिजन अम्पायर विनयकुमार झाले झण्डै चार मिनेट रिभ्यू गरेर नट आउट दिएको—सबैभन्दा बढी आलोचनाको विषय बन्यो ।
स्पष्ट देखिने नो–बलमा पनि निर्णय उल्टो?
चितवनका तिव्र गतिका बलर रिजन ढकालको बलमा सन्दीप जोराको क्याच भएको प्रसंग पनि विवादको केन्द्रमा रह्यो। रिभ्यू गर्दा रिजनको खुट्टा लाइन पार गरेको (फुट–ओभर) देखिए तापनि टेलिभिजन अम्पायरले नो–बल नदिएर क्याच आउट मान्य गरे।
यो घटनाले खेल हेरेका दर्शकदेखि विश्लेषकसम्मलाई आश्चर्य चकित बनायो।
त्यसबाहेक, खेलको सुरुआतमै चितवनले मागेको एलबीडब्ल्यू अपिल अस्वीकृत हुँदा चितवन टोलीको असन्तुष्टि झनै बढेको थियो।
बुधबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पनि एलबीडब्लू विवाद चरम थियो ।
सुदूरपश्चिमका जोश ब्राउनको ब्याटको भित्री किनार छुँदा–छुँदै पनि उनलाई एलबिडब्लू आउट दिइएको दृश्य टेलिभिजनमा स्पष्ट देखिएको थियो।
लगातार दुई दिन, दुई फरक खेल, तर उस्तै प्रकृतिका अम्पायरिङ त्रुटिले अब ‘सामान्य गल्ती’ भन्दा बढी ‘नियतित समस्या’ देखिएको भन्दै सामाजिक सञ्जालमा फिक्सिङको आरोप खुलेर उछालेका छन्।
अहिले फिक्सिङ प्रमाणित भएको अवस्था छैन, तर लगातार देखा परेका अविश्वसनीय निर्णय ले भने अम्पायरहरूको निष्पक्षता र टुर्नामेन्टको पारदर्शितामाथि गम्भीर प्रश्न उठेएका छन्।


