नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक ८ नेपाली क्रिकेटरले एउटै विदेशी लिग खेल्दैछन्। नेपालका ८ क्रिकेटरले पहिलो संस्करणको युरोपियन टी २० लिग बेल्जियममा सहभागीता जनाउने भएका हुन्। पहिलो पटक यतप धेरै नेपाली क्रिकेटरले एउटै विदेशी लिग खेल्न लागेका हुन्। यसअघि २०२४ को ग्लोबल ट्वान्टी २० क्यानडामा नेपालका ३ क्रिकेटर सहभागी भएका थिए।
मंगलबार सम्पन्न बेल्जियममा आयोजना हुने लिगको ड्राफ्टबाट जेबी ब्रुजेसमा सर्वाधिक ५ नेपाली क्रिकेटर अनुबन्धन भएका हुन्। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स र ब्रुजेज एकै स्वामित्वमा रहेको छ। शिवनारायण चन्द्रपल मुख्य प्रशिक्षक रहेको टोलीमा ड्राफ्टबाट ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध भएका हुन्। टोली ड्राफ्ट अघि नै दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गराइसकेको थियो।
ड्राफ्टमार्फत नै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध भएका हुन्। यसअघि सन्दीप लामिछानेलाई लिगको टिम लिज रेड लायन्सले ड्राफ्ट अघि नै अनुबन्ध गराइसकेको थियो। ललित, अनिल, इशान, गुलसन, आसिफको यो पहिलो विदेशी लिग अनुभब रहने छ। ५ टिमको सहभागीता रहको यस लिग ६ देखि १४ जुनसम्म आयोजना हुदैछ।


