Banijya News

विश्वकपमा नौ दशकपछि इजिप्टको पहिलो ऐतिहासिक सफलता

1
1.0K Shares

अहिले चलिरहेको फिफा विश्वकप २०२६ मा इजिप्टले एउटा ऐतिहासिक जित हासिल गरेको छ । ९२ वर्षको प्रतीक्षा र नौ खेलपछि इजिप्टले अन्ततः फिफा विश्वकपमा पहिलो जित हासिल गरेको हो ।

समूह ‘जी’ अन्तर्गत भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै इजिप्टले नकआउट चरणतर्फ बलियो कदम अघि बढाएको छ ।

खेलको १५औं मिनेटमा न्युजिल्यान्डले फिन सुरम्यानको शक्तिशाली हेडमार्फत अग्रता लिएको थियो । तर, दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै २४ मिनेटभित्र तीन गोल गर्‍यो । खेलको ५८औं मिनेटमा मोहम्मद हानीको क्रसलाई मोस्तफा जिकोले गोलमा परिणत गर्दै इजिप्टका लागि बराबरी गोल गरेका थिए । त्यसपछि सलाहकै नेतृत्वमा भएको आक्रामक खेलमा इजिप्टले अग्रता लियो । उनले दायाँतर्फबाट आएको क्रसमा जिकोको हेडमार्फत दोस्रो गोलका लागि अवसर सिर्जना गरे, जसलाई न्युजिल्यान्डका गोलकिपर म्याक्स क्रोकोम्बले रोक्न सकेनन् ।

खेलको ८२औं मिनेटमा मोहम्मद सलाहको कर्नर पासमा वैकल्पिक खेलाडी सब्स्टिच्युट त्रेजेगुएले हेडमार्फत् तेस्रो गोल गरे र इजिप्टको ऐतिहासिक जित सुनिश्चित गरे । यो जितसँगै इजिप्टले समूह ‘जी’ मा शीर्ष स्थान हासिल गर्दै नकआउट चरण पुग्ने यात्रामा महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।

इजिप्टले आफ्नो पहिलो विश्वकप सन् १९३४ मा खेलेको थियो । त्यसयता इजिप्टले अहिले पहिलोपटक जित हासिल गरेको हो । आउँदो शनिबार हुने खेलमा इरानलाई पराजित गरे इजिप्ट समूह विजेता बन्नेछ । अर्कोतर्फ, विश्वकपमा आफ्‌नो पहिलो जितको खोजीमा रहेको न्युजिल्याण्डले अघिल्लो चरण प्रवेशका लागि अब बेल्जियमविरुद्धको खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ ।

1

Scroll to Top