काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नयाँ आर्थिक ऐनले विभिन्न शीर्षकमा कर छुटको व्यवस्था गरेको छ, जसले व्यवसायी र घरधनी दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
ऐनअनुसार, न्यूनतम २० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने गरी दर्ता हुने नयाँ उद्योग तथा व्यवसायलाई तीन आर्थिक वर्षसम्म व्यवसाय कर रकममा ९५ प्रतिशत कर छुटको व्यवस्था गरिएको छ। यसैगरी, काठमाडौँ महानगरभित्र व्यवसाय सञ्चालन गरी बसेका करदाताले चालु आर्थिक वर्षको सम्पत्ति कर, व्यवसाय कर र बहाल कर वापतको रकम २०८२ पौष मसान्तसम्म दाखिला गरेमा त्यस्तो कर रकममा १० प्रतिशत छुट पाउनेछन्।
‘एक वडा एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत सञ्चालित व्यवसायहरूलाई पनि दर्ता भएको तीन वर्षसम्म व्यवसाय करमा ९५ प्रतिशत कर छुट दिइएको छ। महिला, जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालन भएका उद्योग, व्यवसाय, कम्पनी र संस्थाहरूले २०८२ पौष मसान्तभित्र एकमुष्ट रूपमा कर रकम दाखिला गरेमा कर छुटको व्यवस्था गरिएको छ।
विशेषगरी पाँच लाख रुपैयाँसम्म पूँजीगत लगानी भएका यस्ता उद्योग, व्यवसाय, कम्पनी र संस्थाहरूले चालु आर्थिक वर्षका लागि व्यवसाय कर रकमको ४० प्रतिशत छुट पाउनेछन्, तर तिनीहरूले जरिवाना छुट भने पाउने छैनन्। महानगरभित्र स्थायी बसोबास भएका त्यस्ता व्यक्तिका हकमा कुल कर रकमको ५० प्रतिशत छुट दिइएको छ।
आवासीय प्रयोजनका लागि निर्माण भएका घरहरूमा महानगरपालिकाको स्वीकृति लिई पानी पुनर्भरण प्रविधि जडान गरिएमा चालु आर्थिक वर्षको सम्पत्ति करमा राजस्व समितिको सिफारिशमा ९५ प्रतिशतसम्म छुट दिइएको छ। महानगरपालिकासँगको सहकार्यमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराउने निजी व्यवसायको हकमा व्यवसाय करमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। महानगरले महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिई सञ्चालन भएको करदाताको हकमा चालु आर्थिक वर्षको सम्पत्ति कर रकमको थप १० प्रतिशत छुट दिएको छ।
काठमाडौँ महानगरले महानगरभित्र घर, जग्गा र बहालमा विभिन्न किसिमको कर निर्धारण गरेको छ। महानगरले व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरी प्रयोग गरेमा सम्पत्ति करमा छुट दिएको छ। यस्तो भवनलाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रफलको दश वर्षसम्म सम्पत्ति कर छुट हुने उल्लेख छ। तर, फ्लोर एरिया रेसियोको सुविधा लिई स्वीकृत गरेको भवनको सवारी साधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा भने दिइएको छैन। भवनको नक्सा स्वीकृत भएको मितिले दुई वर्षसम्म र नियमानुसार म्याद थप भएको अवधिको सम्पत्ति कर लाग्ने छैन।
तर, निर्माण अवधिभन्दा अगावै भवन निर्माण कार्य सम्पन्न गरी भवन निर्माण सम्पन्न प्रमाणपत्र लिएमा वा भवन खरिद बिक्री भएमा वा भवन प्रयोगमा आएमा सोही अवधिदेखिको हुन आउने सम्पत्ति कर लाग्ने महानगरले जनाएको छ। गरिब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत गरिबी परिचय पत्र प्राप्त गर्ने करदाताको हकमा सम्पत्ति करमा ५० प्रतिशत छुट दिइएको छ।
सम्पत्ति करका दरहरूमा, एक करोड रुपैयाँसम्म सम्पत्ति हुनेले महानगरमा कुल सम्पत्तिको ०.०१० प्रतिशत (अर्थात् एक हजार रुपैयाँ) कर बुझाउनुपर्छ। त्यसपछि २ करोड रुपैयाँसम्म सम्पत्ति हुनेले २५ सय रुपैयाँ, ३ करोड रुपैयाँसम्मको ४५ सय रुपैयाँ, ४ करोड सम्पत्ति हुनेले ८ हजार ५ सय रुपैयाँ, ५ करोड रुपैयाँसम्म सम्पत्ति हुनेले १४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ। १० करोड रुपैयाँसम्म सम्पत्ति हुनेले कुल सम्पत्तिको ०.४५० प्रतिशत (अर्थात् ८४ हजार ५ सय रुपैयाँ) कर बुझाउनुपर्ने हुन्छ।
१० करोडभन्दा माथिको सम्पत्ति हुने करदाताले कुल सम्पत्तिको ०.६०० प्रतिशत कर तिर्नुपर्छ। काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गरेको पार्किङ स्थलको हकमा पहिलो दुई घण्टा पार्किङ निशुल्क हुनेछ। दुई घण्टाभन्दा बढी पार्किङका लागि दुई पाङ्ग्रेका लागि प्रति ३० मिनेटको १५ रुपैयाँ र चार पाङ्ग्रेका लागि प्रति ३० मिनेटको २५ रुपैयाँका दरले शुल्क लाग्नेछ।


