वाणिज्य र विकास बैंकसरह फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति समेत तीव्र रूपमा बढिरहेको छ। कर्जा असुलीमा समस्या देखिएसँगै धेरैजसो फाइनान्स कम्पनीहरूले लिलामीमार्फत सम्पत्ति बिक्री गर्न नसकेपछि ती सम्पत्तिहरू गैर–बैंकिङ सम्पत्तिका रूपमा वर्गीकृत गर्न थालेका छन्। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जाको माग कमजोर छ। अर्कोतर्फ, अघिल्लो वर्षहरूमा प्रवाह भएका कर्जाहरूको असुली पनि समस्या बनिरहेको छ।
बैंकरहरूका अनुसार सावाँ–ब्याज नियमित रूपमा नतिर्नेमध्ये धेरै ऋणी कालोसूचीमा परेका छन्। यस्तो अवस्थामा धितो लिलामीमा राख्नुपर्ने बाध्यता आइपरेको छ। तर अर्थतन्त्र सुस्त भएपछि घरजग्गा कारोबारमा पनि मन्दी आएको छ, जसले गर्दा लिलामीमा राखिएका धितोसमेत बिक्री हुन सकेका छैनन्।
धेरैजसो अवस्थामा एउटै धितो बिक्रीका लागि आधा दर्जनभन्दा बढी सूचना जारी गरिँदा पनि खरिदकर्ता नआउने अवस्था छ। यस्तो स्थितिमा फाइनान्स कम्पनीहरूले ती सम्पत्तिहरू आफैंले स्वप्रयोजनका लागि वा पछि बिक्री गर्ने उद्देश्यले गैर–बैंकिङ सम्पत्तिको रूपमा ग्रहण गरिरहेका छन्। यही कारण पछिल्ला महिनाहरूमा फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने घोषणा गरिसकेको छ। तर बैंकिङ क्षेत्रका विज्ञहरू यस्तो संयन्त्र प्रभावकारी नहुन सक्ने बताउँछन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १७ वटा फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति २ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँले बढी हो।
नेपाल फाइनान्सको गैर–बैंकिङ सम्पत्ति ९ करोड ४३ लाख ५० हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा करिब ३ करोडले बढी हो। गोर्खाज फाइनान्सको गैर–बैंकिङ सम्पत्ति ३८ करोड ९५ लाख रुपैयाँमा स्थिर देखिएको छ भने गुडविल फाइनान्सको सम्पत्ति १० करोड ४५ लाखबाट बढेर ५७ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सम्पत्ति गत वर्षझैं १ करोड ५३ लाखमा यथावत् छ। बेस्ट र प्रोग्रेसिभ फाइनान्सको सम्पत्ति क्रमशः २९ करोड ४७ लाख ५० हजार र २५ करोड ८२ लाख ५० हजार पुगेको छ। जानकी फाइनान्सको गैर–बैंकिङ सम्पत्ति ९७ हजार रुपैयाँबाट बढेर ८ करोड ३२ लाख ५० हजार पुगेको छ।
पोखरा, सेन्ट्रल र मल्टिपर्पस फाइनान्सको सम्पत्ति क्रमशः १८ करोड ८७ लाख ९० हजार, ६ करोड १२ लाख ७० हजार र १ करोड ५८ लाख ३० हजार पुगेको छ। समृद्धि, क्यापिटल मर्चेन्ट र गुह्येश्वरी मर्चेन्ट फाइनान्सको सम्पत्ति क्रमशः १७ करोड १३ लाख ७० हजार, २ करोड ३ लाख ४० हजार र १२ करोड ९८ लाख ६० हजार पुगेको छ।
आईसीएफसी, मञ्जुश्री र रिलायन्स फाइनान्सको गैर–बैंकिङ सम्पत्ति क्रमशः ३ करोड ३८ लाख ३० हजार, ११ करोड ७३ लाख ४० हजार र २१ करोड ८२ लाख २० हजार रुपैयाँ पुगेको छ।
लिलामीमार्फत सम्पत्ति बिक्री हुन नसक्दा र ऋणीहरूको संख्या बढिरहँदा फाइनान्स कम्पनीहरूको गैर–बैंकिङ सम्पत्ति थप चुलिने संकेत देखिएको छ। दीर्घकालीन रूपमा यस्तो प्रवृत्तिले वित्तीय प्रणालीमा थप चुनौती खडा गर्न सक्ने विज्ञहरूको भनाइ छ।


