अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण काठमाडौंमा सुरु भएको छ । अन्तर्राष्ट्रियरुपमा प्रशंसा कमाउन सफल फिल्म ‘छोराजस्तै’को प्रिमियरसँगै महोत्सव बुधबारदेखि शुरू भएको हो । देशब्यापी हलमा प्रदर्शन हुनुअघि त्रिवेणी राई निर्देशितलाई फेस्टिभलमा प्रिमियर गरिएको हो ।
काठमाडौंको ठमेलस्थित क्यूएफएक्सको छायाँ मल्टिप्लेक्समा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले घण्टा बजाएर किम्फको २३औँ संस्करण शुभारम्भ गरेका छन् ।
‘किम्फको मञ्च हामीजस्ता फिल्मकर्मीको यात्राको महत्वपूर्ण सुरुवाती बिन्दु बन्न सक्छन्’ प्रिमियरको क्रममा निर्देशक राईले भनिन् । उनले फिल्म निर्माणको अनुुभव सुनाउँदै नीजि अनुभवलाई आफूले कथाको रुप दिएको बताइन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गनेस) ले किम्फको परम्परागत उद्घाटन शैली पछ्याउँदै घन्टा बजाएर महोत्सवको औपचारिक शुभारम्भ गरेका थिए ।
पाँच दिनसम्म चल्ने महोत्सवमा फिल्म प्रदर्शनसहित छलफल र अन्तक्रिया पनि हुनेछन् । यसवर्ष महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्मको स्क्रिनिङ हुनेछ, जसमा फिक्सन, डकुमेन्ट्री, सर्ट फिल्म तथा साहसिक सिनेमा समावेश छन् ।
विश्वभरका कथासँगै नेपाल पानोरामा खण्डले स्थानीय आवाजलाई प्राथमिकता दिँदै उदाउँदा तथा स्थापित नेपाली फिल्मकर्मीको कामलाई केन्द्रमा राखेको छ ।
‘यस वर्षका फिल्मले मानिस, संस्कृति र तीव्र रूपमा परिवर्तन भइरहेको संसारका विविध कथा प्रस्तुत गर्छन् । हामी फिल्म समुदायमा सिर्जनशीलता विकास गर्न र महत्वपूर्ण कथाप्रति संवेदनशीलता अभिवृद्धि गर्न चाहन्छौँ,’ महोत्सव निर्देशक राम्यता लिम्बुले भनिन् ।
यसैसाता कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको फिल्म ‘एलिफेन्ट्स इन द फग’ का निर्देशक अविनाशविक्रम शाहले पनि समारोहलाई सम्बोधन गर्दै आफ्नो फिल्मी यात्रा दशकौँअघि किम्फबाट सुरु भएको स्मरण गरे । उद्घाटनअघि काठमाडौं डक ल्याबको दोस्रो संस्करणअन्तर्गत विकास गरिएका ९ वटा दक्षिण एसियाली डकुमेन्ट्रीलाई प्रस्तुत गरिएको थियो । यी फिल्मलाई पाँचदिने आवासीय इन्क्युबेटर कार्यक्रममार्फत क्यानडाकी फिल्मकर्मी अनम अब्बास, भुटानका अरुण भट्टराई र भारतकी सर्भनिक कौरले मेन्टरसिप प्रदान गरेका थिए ।
यसवर्षको फेस्टिभलको अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपाली लेखक तथा कवि कुमार नगरकोटी, इटालीस्थित सर्भिनो सिनेमाउन्टेन फेस्टिभल निर्देशक लुका विच छन् ।
नेपाल र स्विट्जरल्याण्डबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा किम्फले ‘अल्पाइन अलायन्स : न्यू वेभ अफ नेपाली सिनेमा’ शीर्षकमा स्वीस फिल्म ल्याब तथा महोत्सवमा सहभागी भइसकेका नेपाली फिल्मकर्मीसँग विशेष संवाद कार्यक्रम आयोजना गर्नेछ ।
यसैगरी, नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित ‘क्लाइम्बिङ फर लाइफ’ विशेष प्रदर्शन गरिनेछ । यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ ।
‘सेप अफ मोमो’को प्रिमियरसँगै ‘किम्फ’को २३औँ संस्करण सुरु


