Banijya News

‘तेज’ ब्रान्ड तोरी तेल गुणस्तरहीन भएको खाद्यको ठहर, बजारबाट फिर्ता गर्न निर्देशन

1
1.0K Shares

सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीबाट उत्पादित ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्डअनुसार नभएको पाइएको हो ।

विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट उत्पादित आयातित तोरीबाट बनेको तेलमा कैफियत देखिएको हो । उपभोग्य मिति ६ महिना र ब्याच नम्बर २० रहेको उक्त तेलको उत्पादन मिति २८ फागुन २०८२ छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याचको तेल बजारबाट तत्काल फिर्ता गर्न उत्पादकलाई निर्देशन दिएको छ । साथै, सोही ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त तेल बिक्री वितरण नगर्न र नगराउन समेत आदेश दिइएको छ ।

विभागले प्रयोगशालामा विश्लेषण गर्दा तेलका विभिन्न प्यारामिटरहरू सरकारले तोकेको मापदण्ड अनुसार नभएकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाएको छ ।

यससँगै अब सम्बन्धित उत्पादकले बजारमा पठाइसकेको उक्त ब्याचको सबै तेल आफ्नै खर्चमा फिर्ता गर्नुपर्ने छ भने उपभोक्तालाई पनि यस्तो तेल प्रयोग नगर्न सचेत गराइएको छ ।

1

Scroll to Top