चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा ऐतिहासिक उछाल देखिएको छ। साउनदेखि जेठ महिनासम्मको ११ महिनाको अवधिमा नेपालले करिब २ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो। भन्सार विभागको तथ्यांकअनुसार, यो वृद्धि दर पछिल्ला केही दशकयताकै उच्च हो।
योसँगै आर्थिक वर्ष २०७८/७९ मा कायम भएको २ खर्ब ३ करोड रुपैयाँको पुरानो निर्यात रेकर्ड यसपटक ११ महिनामै टुटेको छ। विशेषगरी भटमासको तेल, सूर्यमुखीको तेल, धागो, कुकुर-बिरालोको खाना, खयर कत्था लगायतका वस्तुहरूको निर्यात उल्लेख्य दरले बढेको छ।
सबैभन्दा ठूलो योगदान वनस्पति तेलको छ। चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ९३ अर्ब ५१ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात गरिएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो आँकडा ८७ करोड रुपैयाँ मात्र थियो। भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया लगायतका मुलुकबाट आयात गरी नेपालमै प्रशोधनपछि भारतमा बिक्री गरिएको हो। नेपाल–भारत व्यापार सन्धिअनुसार, भारतले नेपालबाट आयात हुने यस्तो प्रशोधित तेलमा भन्सार छुट दिने भएकाले नेपाली तेल प्रतिस्पर्धी बनेको हो।
सूर्यमुखीको तेल निर्यात पनि उल्लेखनीय छ। यस अवधिमा ११ अर्ब ३३ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ, जुन अघिल्लो वर्षको १६ करोड रुपैयाँभन्दा झन्डै ७० गुणा बढी हो।
त्यस्तै, कुकुर–बिरालोको खाना ३६ प्रतिशतले बढेर ४ अर्ब रुपैयाँ, खयर कत्था २१ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ, र धागो ११ अर्ब ६२ करोड रुपैयाँ निर्यात भएको छ। चिया, मसला, तयारी कपडा जस्ता सामग्रीको निर्यातमा पनि सुधार देखिएको छ।
भन्सार तथ्यांक अनुसार, साउनदेखि असोजसम्मको प्रारम्भिक तीन महिनामा मात्र ३८ अर्ब रुपैयाँभन्दा कम निर्यात भएको थियो। तर त्यसपछिका आठ महिनामा निर्यात २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। पछिल्ला चार महिनामा लगातार ३० अर्ब रुपैयाँभन्दा बढीको मासिक निर्यात भइरहेको छ।
अर्थविद् डा. केशव आचार्यका अनुसार, “नेपालको निर्यात जब उल्लेखनीय रूपमा बढेको हुन्छ, त्यहाँ वनस्पति तेलकै योगदान बढी देखिन्छ। यो प्रवृत्ति २०५२ सालदेखि देखिएको हो।”
भारतले गत भदौमा खाने तेलमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएपछि अन्य देशका तेल महँगा भएका थिए। नेपाललाई भने सन्धिअनुसार भन्सार छुट भएकाले निर्यात सहज भएको हो। जेठमा भारतले उक्त महसुल पुनः १० प्रतिशतले घटाए पनि हालसम्म यसको असर नेपाली निर्यातमा देखिएको छैन।


