नेपाल आयल निगम लिमिटेडको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने एक ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नविन ढुवानी सेवा प्रा।लि।को को १ ख ६१९० नम्बरको ट्यांकरले २०८३ असार ६ गते भारतीय आयल कर्पोरेसनको सिलिगुरी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरेर ल्याएको थियो। उक्त ट्यांकरलाई असार ७ गते बिहान विराटनगर डिपो नजिकैको कञ्चनबारी पार्किङमा राखिएकोमा, भोलिपल्ट असार ८ गते बिहान ९ बजे पार्किङस्थलबाट हराएको जानकारी ढुवानीकर्ताले निगमलाई दिएका थिए।
निगमको सूचनाका आधारमा प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दा ट्यांकर असार ८ गते बिहान ३ बजे नै पार्किङबाट बाहिरिएर नोवेल अस्पतालतर्फ मोडिएको देखिएको थियो। खोजी कार्यका क्रममा उक्त ट्यांकर १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ स्थित हुलाकी राजमार्गमा ताला काटिएको बेवारिसे अवस्थामा फेला परेको थियो।
प्रहरीको रोहवरमा मुचुल्का उठाएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएपछि ट्यांकरलाई निगमको डिपोमा ल्याएर ताला गरी राखिएको थियो।
स्थानीय प्रशासन, प्रहरी, पत्रकार, निगम र ढुवानीकर्ताको उपस्थितिमा ट्यांकर खोल्दा लोड गरिएको २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको र बाँकी १९ हजार २७ लिटर सुरक्षित रहेको पाइएको छ। बाँकी पेट्रोल निगमको भण्डारणमा जम्मा गरिएको छ भने ढुवानी विनियमावली, २०७३ बमोजिम चोरी भएको परिमाणको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिसकिएको छ।
यसैबीच, निगमले यस घटनालाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका तथ्यहीन तथा भ्रमपूर्ण समाचारहरूको खण्डन गर्दै आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ। घटनाको थप अनुसन्धान भने जारी रहेको छ।


