४ चैत्र, काठमाडौँ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा पर्याप्त सावधानी अपनाएर तोकिएको समयमै सञ्चालन गर्ने बताएका छन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको अवस्थामा परीक्षा नरोकेको भन्दै अभिभावक महासंघलगायत सरोकारवाला निकायले भने असन्तुष्टि जनाएका छन्। केही दिन शिक्षण संस्था बिदा दिन गरेको आग्रहलाई बेवास्ता गर्दै परीक्षा गर्न लागेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै एसईईको सम्पूर्ण तयारी पूरा भएको र विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगिसकेका कारण परीक्षा पूर्वनिर्धारित समयमै हुने बताएका हुन्।
६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।
एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन प्रदेश सरकारले गर्ने बताउँदै उनले संघीय सरकार र स्थानीय तहले आवश्यक अनुरुप समन्वय र सहजीकरण गरिरहेको बताएका छन्। उनले परीक्षा अवधिभर परीक्षा केन्द्रमा हेल्थ डेक्स राख्न स्थानीय तशहलाई अनुरोध समेत गरेका छन्।
बोर्डले सबै परीक्षा केन्द्रमा स्वास्थ्य–कक्ष राखेर परीक्षा सञ्चालन गर्ने दाबी गरे तापनि अहिलेसम्म कुनै तयारी छैन। परीक्षा आउन २ दिनमात्र बाँकी छ।
मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ ।


