१३ चैत, काठमाडौं ।
संसारभरी प्राणघातक कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २२ सय ९७ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सबैभन्दा बढी इटालीमा ६८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।
गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् ।
कोरोना भाइसका कारण विश्वभर हाल ३ लाख ३३ हजार २ सय ३५ जना संक्रमित छन्।
संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्। अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ४४ जनामा यसको संक्रमण पुष्टि भएको छ।
नेपालमा यतिबेला चैत ११ गतेबाट १७ गतेसम्मको लागि सरकारले कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउनको लागि लकडाउन घोषणा गरेको छ । यस्तो समयमा कोरोना भाइरस विरुद्ध लड्ने कार्यमा सरकारको एक्लो प्रयासले परिणाम नआउन सक्छ हामी सबै नागरिहरुले सरकारी निर्देशनहरुको पालना गरी सरकारलाई साथ दिनु पर्दछ ।


